घाेराही, ७ जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर समितिकाे बैठक सम्पन्न भएकाे छ । प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् केन्द्रीय सदस्य महेन्द्र अधिकारीकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले विभिन्न निर्णयहरु गरेकाे छ ।

शैक्षिकसत्र २०८२ काे पहिलाे बैठकले यहि जेठ १० गते शनिबार मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुल घाेराहीमा कक्षा १ देखि ३ सम्मकाे अंग्रेजी हिज्जे र कक्षा ४ देखि ५ सम्मकाे चित्रकला प्रतियाेगिता गर्ने निर्णय गरेकाे छ । उक्त बैठकले प्रतियोगिता सफल पार्न कार्यसमितिका सदस्यहरुलाई जिम्मेवारी दिएकाे छ ।

यसैगरी बैठकले प्याब्सन घाेराहीले प्रकाशन गरेकाे २०८२ काे वार्षिक क्यालेन्डरलाई प्रत्येक सदस्य विद्यालयहरुमा भेटघाटसहित वितरण गर्ने निर्णय गरेकाे छ । बैठकले शैक्षिकसत्र २०८२ का लागि छात्रवृत्ति वितरणकाे प्रक्रियालाई अगाडि बढाउन सदस्य विद्यालयहरुलाई संस्थागत निर्देशन दिने निर्णय गरेकाे छ ।

बैठकलाई सम्बाेधन गर्दै प्याब्सनका केन्द्रीय सदस्य महेन्द्र अधिकारीले सम्पुर्ण निजी विद्यालयहरुलाई समेट्दै सक्रिय गतिविधि सञ्चालन गर्न प्याब्सन घाेराहीलाई आग्रह गर्नुभयाे । ब‌ैठकका प्रमुख अतिथि समेत रहनुभएका अधिकारीले विद्यार्थीका प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै प्रशंसा गर्नुभयाे ।

प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेले सबै पालिकामा छात्रवृत्ति वितरण तथा अनुगमन समानरुपमा हुनुपर्ने बताउनुभयाे । उहाँले कुनै एक पालिका तथा शिक्षण संस्थालाई मात्र लक्षित गरि दबाब सिर्जना गर्न नहुने भन्दै निजी विद्यालयका समस्यालाई गहनरुपमा बुझ्न जरुरी रहेकाे उल्लेख गर्नुभयाे ।

प्याब्सन घाेराहीका प्रमुख सल्लाहकार विरेन्द्र चन्दले संस्थाकाे हितका लागि ल्याइएका प्रस्तावहरुलाई सबैकाे समर्थन हुनुपर्ने बताउँदै जिम्मेवार व्यक्तिहरु कहाँ, कति र कसरी बाेल्ने भन्ने कुरामा हेक्का राख्न आग्रह गर्नुभयाे । संस्थालाई जीवन्त चलायमान बनाउनका लागि केन्द्रदेखि पालिकासम्मका सदस्यहरुकाे भूमिका अहम् हुने भन्दै कार्यसमितिलाई साथ दिन आग्रह गर्नुभयाे ।

प्याब्सन घाेराहीका उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे बैठककाे सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस