महेश बस्नेत
घाेराही, १६ जेठ । १८ औं गणतन्त्र दिवसका अवसरमा बाैद्धिक अपांग विद्यार्थीहरुलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले सहयाेग गरेकाे छ ।

जिल्ला स्तरीय मूल समाराेह समिति दाङकाे आयाेजना, शिक्षा विकास तथा समन्वय इकाई दाङकाे समन्वय र प्याब्सन घाेराही नगर कमिटीको आर्थिक सहयाेगमा श्री बालमन्दिर आधारभूत विद्यालय घाेराहीका बाैद्धिक अपांगता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएकाे थियाे ।
जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विद्यालयमा अध्ययनरत ३६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री र ४ वटा टेबल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर बुढाथोकीलाई हस्तान्तरण गरिएकाे थियाे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, घाेराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चाैधरी, शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणी चाैधरी, प्याब्सन घाेराही अध्यक्ष बालकृष्ण ओली, वडा नं. १४ का अध्यक्ष भानसिंह बुढालगायतकाे आतिथ्यता रहेकाे थियाे ।

जेठ १४ गतेदेखि तीन दिनसम्म मनाइएकाे गणतन्त्र दिवस बालमन्दिर आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरि समापन गरिएकाे मूल समाराेह समितिका अध्यक्ष शर्माले बताउनुभयाे । उक्त कार्यक्रमकाे सहजीकरण विद्यालयका प्रधानाध्यापक बिष्णु भण्डारीले गर्नुभएकाे थियाे ।












