घाेराही, १७ जेठ । विज्ञान शिक्षक समाज (स्टान) घाेराही नगर कमिटीको आयाेजनामा विज्ञान शिक्षकका लागि एकदिने अभिमुखिकरण तालिम सम्पन्न भएकाे छ ।

विज्ञान शिक्षक समाज घाेराही नगर कमिटीका अध्यक्ष प्रकाश गाैतमकाे अध्यक्षता एवम् शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणि चाैधरीकाे प्रमुख आतिथ्यतामा तालिम आयाेजना गरिएकाे थियाे ।

‘विज्ञान शिक्षणमा कथा र शैक्षिक सामग्रीको प्रयोग’ बिषयमा घोराही उपमहानगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विज्ञान शिक्षकहरुका लागि तालिम सञ्चालन गरिएकाे थियाे ।

तालिमका प्रशिक्षकमा गण्डकी विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन डा. कपिल अधिकारी, पृथ्वीनारायण क्याम्पस पाेखराका एसाेसियट प्राेफेसर डा. दिपक अधिकारी र हिमालय फिजिक्स जर्नलका प्रधान सम्पादक आविस्कार भुसाल रहनुभएकाे थियाे ।

तालिमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणि चाैधरीले विज्ञान शिक्षक समाज घोराही नगरले घोराहीको विज्ञानको क्षेत्रमा अत्यन्तै राम्रो काम गरेको बताउनु भयो । उहाँले विज्ञान शिक्षकहरुकाे शिक्षण क्षमता अभिबृद्धिमा तालिमले सार्थकता पाउनेमा विश्वास व्यक्त गर्नुभयाे ।

तालिममा प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण वली, स्टान दाङका अध्यक्ष रामसुरत यादव, स्टान दाङका उपाध्यक्ष राजेन्द्र घिमिरे, स्टान दाङका सचिव तिलक साहुलगायतले मन्तव्य राख्नुभएको थियाे । स्टान घाेराहीका उपाध्यक्ष बब्लु शर्माकाे स्वागत मन्तव्यबाट सुरु भएको तालिमकाे सहजीकरण स्टान घाेराहीका सचिव बिष्णु हमालले गर्नुभएकाे थियाे ।

तालिममा सामुदायिक र संस्थागत विद्यालयका ७१ जना विज्ञान शिक्षकहरुकाे सहभागिता रहेकाे थियाे । साे अवसरमा अधिक विज्ञान शिक्षकहरु सहभागी गराउने मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुल र स्टार इङ्लिश बाेर्डिङ स्कुल घाेराहीलाई सम्मान गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस