घाेराही, १९ जेठ । घोराहीमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत पत्रकारहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण सम्पन्न भएकाे छ । ‘स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जानै परे सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं’ भन्ने मूल नारासहित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत पत्रकारहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम घोराहीमा सम्पन्न भएको हाे।

सोमबार घोराही उपमहानगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा उप–प्रमुख हुमा कुमारी डि.सी.को अध्यक्षता रहेको थियो। कार्यक्रममा पत्रकारहरूलाई सुरक्षित आप्रवासन सम्बन्धी जानकारी, वैदेशिक रोजगारीका सम्भावित जोखिमहरू, आवश्यक सीप र जानकारीको महत्त्वबारे अभिमुखीकरण दिइएको थियो।

कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) परियोजनाका पदाधिकारीहरू, जिल्ला प्रशासन कार्यालयका कर्मचारी तथा जिल्लामा क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई वैदेशिक रोजगारीतर्फ युवाहरू आकर्षित भइरहे पनि जानकारीको अभाव, सीप नहुनु र ठगीका घटनाले ठूलो जोखिम सिर्जना गरिरहेको बिषयमा अन्तरक्रिया गरिएको थियो।

उप–प्रमुख डि.सी.ले वैदेशिक रोजगारमा जानु अगाडि प्रत्येक व्यक्तिले न्यूनतम सीप र जानकारी लिनु अनिवार्य भएको बताउँदै सञ्चारकर्मीहरूले जनचेतनामूलक सूचना प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयाे ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले सुरक्षित आप्रवासनका सन्देशलाई समाजसम्म पुर्‍याउनका साथै, उनीहरूले वैदेशिक रोजगारको नाममा हुने ठगी, शोषण, र अवैधानिक प्रक्रिया नियन्त्रण गर्न सूचनाको प्रभावकारिता अपरिहार्य रहेको बताउनु भयाे ।

सामी कार्यक्रम वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई सुरक्षित आप्रवासनका लागि आवश्यक परामर्श, सीप विकास, सूचना प्रवाह, र जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस