घाेराही, २४ जेठ । नेकपा एमाले दाङले केन्द्रीय परिषद् सदस्य स्वर्गीय महेश चौधरीको दोस्रो स्मृति दिवस मनाएको छ ।
स्मृति सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रिय सदस्य सीता सिग्देल न्यौपानेले स्वर्गीय चौधरीको व्यक्तित्वको चर्चा गर्दै उहाँ स्वाभिमानी राष्ट्रवादी नेता रहेको उल्लेख गर्नुभयाे । न्यौपानेले चौधरीले जनजाति आन्दोलनमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँले देखाएको बाटोमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयाे । चौधरी सुखसुविधा देखि टाढा रहेर सामाजिक आन्दोलनमा लागेको उहाँले स्मरण गर्नुभयाे ।
पूर्व स्थानीय विकास राज्यमन्त्री समेत रहनुभएका स्वर्गीय चौधरी थारू आन्दोलनका अगुवा मानिनु हुन्छ । दंगिशरण १ बैबाङका चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बन्नु भएकाे थियाे । उहाँले वि.सं २०२८ सालमा दाङबाट थारू भाषाको साहित्यिक पत्रिका ‘गोचाली’ निकाल्नु भएकाे थियाे ।
उहाँले ‘द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल (भाग-१ र २)’, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, ‘स्थविरहरुको प्राचीन इतिहास र संस्कृति’, थारू भाषाको पहिलो गीति नाटक ‘छारा’, थारू भाषामा ‘लिरौसी व्याकरण’ लगायत पुस्तकहरु लेख्नु भएकाे छ । उहाँकाे २०८० जेठ २४ गते निधन भएको थियो ।
नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सचिव लक्ष्मण आचार्य, महेश चौधरीकी जिवनसंगीनी शान्ति चौधरी, नेपाल पत्रकार महाँसंघका केन्द्रिय सचिव सविन प्रियासन, बुद्धिजिवि परिषद् दाङका अध्यक्ष तिर्थ न्यौपाने, प्राध्यापक केबि चौधरी, श्याम आचार्य र राम बहादुर जिसीले महेश चौधरीले राजनितिक र सामाजिक योगदानको चर्चा गर्नुभएकाे थियाे ।
कार्यक्रमको सहजिकरण जिल्ला सचिवालय सदस्य एवम् निवार्चन विभाग प्रमुख विवेक श्रेष्ठले गर्नुभएकाे थियाे ।












