दाङ, ३१ जेठ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनद्वारा लिखित ११औँ उपन्यास ‘कडी’ शनिबार औपचारिकरुपमा विमोचन गरिएको छ।
सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माकाे प्रमुख अतिथ्यतामा उपन्यास ‘कडी’काे विमाेचन गरिएकाे थियाे।
कार्यक्रममा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष पुरुषोत्तम खनालसहित जिल्लाका विभिन्न संघ–संस्थाका कर्मचारी, पत्रकार, साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
लेखक प्रियासनले हालसम्म ११ वटा उपन्यास प्रकाशन गरिसक्नु भएकाे छ। उहाँका प्रकाशित कृतिहरूमा ‘रोदनपछिको’, ‘भुमरी’, ‘पुनरागमन’, ‘पल्लवी’, ‘सहनशीला’, ‘सेल्फी’, ‘लक्की चार्म’, ‘ब्रेकअप डायरी’, ‘लकडाउन लभ’, ‘एयरहोस्टेस’ तथा हालै प्रकाशित ‘कडी’ रहेका छन्।
कार्यक्रममा बोल्दै लेखक प्रियासनले औपचारिकरूपमा साहित्यको विद्यार्थी नभए पनि लेखनप्रतिको गहिरो लगावका कारण उपन्यास सिर्जनामा आफू सक्रिय रहेको बताउनुभयाे। उहाँले लेखन यात्राको क्रममा आफूले जानेका अनुभवहरू अरूसँग बाँड्ने प्रयास गर्दै आएको उल्लेख गर्दै भन्नु भयाे, “म उपन्यास लेख्न सक्छु, तर मसँग सैद्धान्तिक ज्ञान भने छैन।”
उहाँले उपन्यास लेख्न चाहनेहरूलाई आफ्ना अनुभवका आधारमा सुझाव दिन सकिने विश्वास व्यक्त गर्दै लेखनमा समर्पण र निरन्तरताको आवश्यकता रहेको धारणा राख्नु भयाे ।
कार्यक्रममा अन्य वक्ताहरूले उपन्यास ‘कडी’ को विषयवस्तु, लेखकको साहित्यिक यात्रा तथा नेपाली उपन्यासले साहित्यमा पुर्याएको योगदानका बारे आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रमकाे सहजीकरण संस्थाका सहसचिव हरिप्रसाद पाैडेलले गर्नुभएकाे थियाे ।

