नवीन आचार्य
घोराही, ३१ जेठ। घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा आज एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। सञ्जीवनी डेन्टल क्लिनिक घाेराहीको आयोजना तथा वडा नम्बर १३ र स्वास्थ्य सेवा केन्द्रको समन्वय एवम् ज्ञानज्याेती माध्यामिक विद्यालय डुमरगाउँकाे व्यवस्थापनमा शिविर सञ्चालन गरिएकाे हाे।

उक्त शिविरमा ५४ जना ज्येष्ठ नागरिकहरूले दन्त परिक्षण सेवा लिनुभएकाे थियो। शिविरका अधिकांश सेवाग्राहीहरूमा दाँत दुख्ने, हल्लिने र झार्नुपर्ने अवस्थाहरू देखिएकाले त्यस अनुसार दाँत निकाल्ने सेवा समेत उपलब्ध गराइएको थियो। शिविरमा वरिष्ठ दन्त शल्य चिकित्सक डा. आशिष उप्रेतीले जेष्ठ नागरिकहरुकाे दन्त परिक्षण गर्नुभएको थियो।

शिविरकाे उद्घाटन सत्रमा वडा नम्बर १३ का अध्यक्ष दुल्नुराम पोख्रेलले वडामा बसोबास गर्ने ज्येष्ठ नागरिकहरूको दन्त स्वास्थ्यप्रति वडा संवेदनशील रहेकाे बताउनुभयाे । वडाले जेष्ठ नागरिकको दन्त स्वास्थ्यप्रति चासो राख्दै यस्तो उपयोगी शिविर सञ्चालन गर्नु अत्यन्तै सराहनीय कार्य भएको पाेख्रेलले बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरतामा वडा कार्यालय सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैगरी, शिविरमा सेवा प्रदान गर्दै डा. आशिष उप्रेतीले ज्येष्ठ नागरिकहरूमा लामाे समयदेखि दन्त समस्या रहेकाे बताउनुभयो। समयमै परीक्षण र उपचारको पहुँच नहुँदा समस्या जटिल बन्दै जान सक्नेतर्फ इङ्गित गर्दै, उहाँले गाउँमै पुगेर सेवा दिन पाउनु स्वयंमा सन्तोषदायी अनुभव भएको प्रतिक्रिया दिनुभयो। डा. उप्रेतीले भविष्यमा पनि यस्ता जनमैत्री सेवाका कार्यक्रमलाई आफ्नाेतर्फबाट निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त अवसरमा ज्ञानज्योति माध्यमिक विद्यालयका शैक्षिक संयाेजक नविन आचार्यले यस कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक सेवाप्रति चेतना र उत्तरदायित्व‌को भावना विकास गरेको बताउनुभयो।

शिविरमा विद्यालय प्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय अभिभावक, समाजसेवी तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो। ज्ञानज्याेती माध्यामिक विद्यालयमा गठित स्काउटका विद्यार्थीहरुले शिविर व्यवस्थित गर्न स्वयंसेवककाे भूमिका निर्वाह गरेका थिए भने शिविरकाे सहजीकरण वडा स्वास्थ्य प्रमुख माधव शर्माले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस