घाेराही, ७ असार । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराहीद्वारा आयाेजित हाजिरीजवाफ प्रतियोगिताकाे विजेता प्रज्ञान एकेडेमी भएकाे छ ।

घाेराही उपमहानगरपालिकाभित्र रहेका निजी विद्यालयका  कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि आयाेजना गरिएकाे प्रतियोगिताकाे विजेता घाेराही १३ बडहरामा रहेकाे प्रज्ञान एकेडेमीका ज्याेती दर्लामी, कृष्टि खड्का र अनिस्मा चाैधरी भएका हुन् । यसैगरी प्रतियोगितामा सिद्धार्थ एकेडेमीका सम्पुर्ण शर्मा, अनु चाैधरी र ऋषिकेश खड्का द्वितीय भएका छन् । प्रतियोगितामा ज्याेतीपुञ्ज माेडेल स्कुल रामपुरका साेनिया अधिकारी, अनुजा कवर र सुशान्त तामाङ तृतीय भएकाछन् भने गुरुकुल एकेडेमीका सक्षम डाँगी, मानुषी पाेख्रेल र आभाष ओली सान्त्वना भएकाछन् ।

घाेराही उपमहानगरपालिकाभित्र रहेका ४७ ओटा विद्यालयकाे सहभागीता रहेकाे प्रतियोगिताकाे छनाैट चरणबाट फाइनल चरणमा दीपशिखा मावि, ग्रेट बुद्ध, ज्याेतीपुञ्ज माेडेल, लिटिल एञ्जल, सभ्यता, सिद्धार्थ, गुरुकुल, प्रज्ञान, जनज्योति र शान्ति निकेतन प्रवेश गरेका थिए।

नगर अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् राष्ट्रिय परीक्षा बाेर्ड घाेराही शाखाका कार्यालय प्रमुख कमल प्रसाद अर्यालकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियाेगिताका विजेतालाई ट्रफि, मेडल, प्रमाणपत्र र नगद राशी प्रदान गरिएकाे थियाे।

प्रतियोगिताकाे उद्घाटन सत्रमा बाेल्दै प्रमुख अतिथि अर्यालले भाग्यमा नभइ कर्ममा विश्वास गर्न विद्यार्थीलाई प्रेरित गर्नुभयाे। उहाँले खेलमा हारजित अवश्य हुने भएकाले सहभागीता न‌ै सिकाइकाे महत्वपुर्ण पाटाे रहेकाे बताउनुभयाे।

कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेले विद्यार्थीहरुकाे बाैद्धिक क्षमता र शारीरिक तथा मानसिक विकासका लागि प्रतियोगिताहरु अपरिहार्य रहेकाे बताउनुभयाे । यसैगरी प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष एवम् प्याब्सन घाेराहीका प्रमुख सल्लाहकार विरेन्द्र चन्दले भविष्यकाे जग वर्तमान रहेकाे हुँदा विद्यार्थीहरुकाे वर्तमान ठिक हुनुपर्नेमा जाेड दिनुभयाे। प्याब्सन घाेराहीका उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा गुरुकुल एकेडेमीका प्रिन्सिपल डा.कृष्णराज डिसीले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

कार्यक्रमकाे सहजीकरण सचिव विमल भण्डारी र सहसचिव सन्दिप शाहले गर्नुभएकाे थियाे भने क्विज मास्टरकाे भूमिकामा श्रवण चाैधरी रहनुभएकाे थियाे।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस