पाल्पा, २१ असार । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ब्रेकिङ र भाईरल न्यूज सम्प्रेषण गर्ने चक्करमा मिडियाहरु चुक्ने गरेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, पाल्पा शाखाले तानसेनमा आयोजना गरेको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा बोल्दै नेता ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले समाचार सम्प्रेषण गर्दा अलीकता ढिला भएपनी गलत नहोस् भन्ने हेतुले सञ्चारमाध्यमले काम गर्नुपर्नेमा पछिल्लो समय त्यसो हुन नसकेको गुनासाे गर्नुभयो ।

सञ्चार माध्यमले छिटो र भाईरल समाचार प्रेषण गर्दा सामाजिक सद्भाव खल्बलिने गरेको भन्दै एकले अर्कालाई उछिन्ने हतारोमा नभई जनतालाई सुसूचित गर्ने समाचार सम्प्रेषण गर्ने विषय प्राथमिकतामा पर्नुपर्ने उहाँकोे भनाई थियो ।

अहिले समाचारका कोणहरु मानिसलाई निरास र हतास बनाउने खालको मात्र आउने गरेको भन्दै नेपाल बन्ने खालको देश नै होईन, यहाँ केही हुँदैन भन्ने भाष्य निर्माण हुनु गलत भएको नेता ज्ञवालीले बताउनुभयो । ‘नेपालमा केही हुँदैन भन्ने कुरा सत्य होईन । नेपालको लोकतन्त्र भाईब्रेट अवस्थामा छ । लोकतन्त्र आएको ३५ वर्षमा २० वर्ष समय त द्धन्द्ध र यसको व्यवस्थापनमा खर्च भयो । ९७ प्रतिशत जनताले अहिले विजुली र सोलार बाल्छन् । यो नेपालमा भईरहेको राम्रा कामहरु हुन् । यो कुरा जनतालाई बताउनु जरुरी छ ।’ उहाँले भन्नुभयो ।

नेपालमा अहिले विभिन्न चुनौतिहरु रहेको भन्दै नेता ज्ञवालीले ति चुनौतीहरु समाधान गर्न जरुरी रहेको बताउनुभयो । नेकपा एमाालेले ०७४ सालमा स्थानीय तहमा जितेको ४४ प्रतिशत स्थानमा पुनः जितेको तथ्यांक रहेको भन्दै उहाँले जनप्रतिनिधीहरुको पहिलो एजेण्डा शिक्षामा सुधार गर्ने हुनुपर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयहरुमा सोंचेजस्तो सुधार हुन नसकिरहेको भन्दै अहिले एसइई परिक्षामा केही राम्रो नतिजा आएको र त्यो धेरैजसो संस्थागत विद्यालयको नतिजा भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस