घाेराही, २४ असार । विश्व भलिबल दिवसका अवसरमा आयाेजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन घाेराही नगर कमिटी विजय भएकाे छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन घाेराही नगर कमिटीद्वारा आयाेजित सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरू बीचकाे मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन घाेराही नगर कमिटीको समूह (ख) विजय भएकाे थियाे ।
प्रतियोगितामा प्याब्सन घाेराही नगर कमिटीकाे समूह (ख) का नवराज खत्री, नारायण प्रसाद घिमिरे, नारायण बुढा, प्रताप पुन, जीत भण्डारी, श्रवण कुमार चाैधरी, बिष्णु पन्थी, लक्ष्मीप्रसाद बुढा र राम बहादुर खड्का प्रथम भएका थिए । यसैगरी, प्रतियोगितामा सामुदायिक शिक्षकहरू कृष्ण बहादुर डाँगी, दिपक ओली, लाेकेन्द्र डाँगी, धनेश्वर पाेख्रेल, अर्जुन गिरी, रुकमान घर्ती, नरेश खड्का, धनबहादुर पुन र माेहन बुढाकाे समूह उपविजेता भएकाे थियाे ।
नेपाल राष्ट्रिय शिक्षक संगठन घाेराहीका अध्यक्ष पाेषण राज बिष्टकाे अध्यक्षता एवम् पेशागत महासंघ नेपालका केन्द्रीय निर्वाचन आयाेगका संयाेजक उद्धव न्याैपानेकाे प्रमुख आतिथ्यतामा प्रतियोगिता सञ्चालन गरिएकाे थियाे । प्रतियोगिताकाे उद्घाटनका अवसरमा बाेल्ने वक्ताहरुले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरु बीच सुमधुर सम्बन्ध स्थापित गर्न प्रतियोगिताले पुलकाे काम गर्ने बताएका थिए ।
उक्त अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष मिनराज शर्मा पण्डित, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दलगायतले मन्तव्य राख्नुभएको थियाे । कार्यक्रमकाे सहजीकरण नेपाल राष्ट्रिय शिक्षक संगठन घाेराहीका खेलकुद संयाेजक कृष्णबहादुर डाँगीले गर्नुभएको थियाे । प्रतियोगिता घाेराही १५ रतनपुरस्थित मेचीकाली सेकेन्डरी स्कुलकाे खेल मैदानमा दुई दिनसम्म चलेकाे थियाे ।












