विमल योगी
दाङ, ३० असार । दाङको प्रसिद्ध धार्मिक स्थल धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा सञ्चालन हुने शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको तयारी अन्तिम चरणमा पुगेको छ।
मन्दिर व्यवस्थापन समितिले सोमबार मन्दिर परिसरमै पत्रकार सम्मेलन आयोजना गर्दै मञ्च व्यवस्थापन, प्रचारप्रसार, सुरक्षा व्यवस्था, सरसफाइ लगायतका सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।
शिवपुराण तथा श्रृङ्गारिक महाआरती साउन १ गते दिउँसो १ बजे उद्घाटन गरिनेछ। पत्रकार सम्मेलन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा समितिका सचिव एवं शिवपुराण तथा श्रृङ्गारिक महाआरती प्रचारप्रसार उपसमितिका संयोजक विष्णुराम आचार्यले तयारीहरू प्रायः पूरा भइसकेको जनाउँदै सम्पूर्ण भक्तजनलाई धारपानी मन्दिरमा सहभागी भइ आस्था प्रकट गर्न अनुरोध गर्नुभयो।
उहाँका अनुसार साउन २ गतेदेखि २९ गतेसम्म लोकभजन प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा प्रथम हुने समूहलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुन साउन २ गतेदेखि टोली दर्ता गर्न सकिने जानकारी दिइयो। आचार्यका अनुसार लोकभजनको संरक्षण र प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको हो।
शिवपुराण तथा श्रृङ्गारिक महाआरती दैनिक विभिन्न कार्यक्रमसहित सञ्चालन हुने आयाेजकले जनाएकाे छ। आयाेजकका अनुसार बिहान ४ बजेदेखि ७ बजेसम्म नित्य पूजा, बिहान ७ बजेदेखि १० बजेसम्म विशेष पूजा रहने छ । यसैगरी, बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म प्रवचन तथा लोकभजन प्रतियोगिता, साँझ ७ बजेदेखि ८ बजेसम्म नित्य आरती, साँझ ८ बजेदेखि ९ बजेसम्म श्रृङ्गारिक आरती, राति ९ बजेदेखि साढे १० बजेसम्म प्रवचन तथा झाँकी प्रस्तुत हुनेछ।
एक महिना चल्ने यस महाआरतीको अवधिमा रुद्राभिषेक, लघु रुद्रि, लक्ष्यवर्तिका, चारासी पूजा, जन्मदिन पूजा, गृहपूजा, नाग पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, व्रतबन्ध, चूडाकर्म आदि कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले धारपानी मन्दिरले श्रृङ्गारिक आरतीको थालनी गरेको र अहिले अन्य मन्दिरहरूले पनि त्यसको अनुकरण गर्न थालेकोमा खुशी व्यक्त गर्नुभयो।
त्यस्तै, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी र पर्यटन विकास केन्द्र दाङका उपाध्यक्ष डा. लोकराज पराजुलीले धारपानीको विकास व्यवस्थित योजना, सामूहिक एकता र दाताहरूको सहयोगका कारण तीव्र गतिमा अघि बढेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको सहजीकरण मन्दिर सञ्चार संयोजक विमल योगीले गर्नुभएको थियो।

