विमल योगी
दाङ, ३२ असार । दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर, धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रीङ्गारिक महाआरतिको तयारी पूरा भएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार महाआरतिको लागि आवश्यक निमन्त्रणा, भक्तजन बस्नका लागि मञ्च व्यवस्थापन, सरसफाइ, ट्राफिक व्यवस्थापन, प्रचारप्रसार लगायतका कार्यहरू सम्पन्न भइसकेका छन्।
मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यका अनुसार भोलि दिउँसो ३ बजे दाङका प्रमुख जिल्ला अधिकारीबाट श्रृङ्गारिक महाआरतीको उद्घाटन गरिने छ।
साउन १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको कार्यतालिका अनुसार बिहान ४ बजेदेखि ७ बजेसम्म नित्य पूजा, बिहान ७ बजेदेखि १० बजेसम्म विशेष पूजा, बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रवचन तथा लोकभजन प्रतियोगिता रहनेछन् । यसैगरी साँझ ७ बजेदेखि ८ बजेसम्म नित्य आरती, साँझ ८ बजेदेखि ९ बजेसम्म श्रीङ्गारिक आरती, राति ९ बजेदेखि साढे १० बजेसम्म प्रवचन तथा झाँकी प्रदर्शन रहनेछन् ।
यसैक्रममा, जिल्ला स्तरीय लोकभजन प्रतियोगिता समेत सञ्चालन गरिनेछ। प्रतियोगितामा प्रथम हुने समूहलाई नगद १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलिहरूले साउन २ गतेदेखि टिम दर्ता गराउन सक्नेछन्। सचिव आचार्यका अनुसार लोकभजनको संरक्षण तथा प्रवर्द्धनका लागि उक्त प्रतियोगिता सञ्चालन थालिएको हो।
महाआरतिको अवसरमा रुद्राभिषेक, लघुरुद्र, लक्ष्यवर्तिका, चारासी पूजा, जन्मदिन, गृहपूजा, नागपूजा, ब्राह्मण भोज, प्रसाद वितरण, ब्रतबन्ध, चूडाकर्म लगायतका धार्मिक कार्यहरू समेत सञ्चालन गरिनेछन्।

