बारा, ९ साउन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल अहिले चौतर्फी विकासको गतिमा अघि बढिरहेको दाबी गर्नुभएकाे छ ।

शुक्रबार बाराको परवानीपुर गाउँपालिकामा आयोजित नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रको अन्त्यसँगै मुलुक समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका क्षेत्रमा उल्लेखनीय फड्को मारेको बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा सुरु गरिएको हुलाकी राजमार्गको उदाहरण दिँदै अहिले उक्त परियोजनाको निर्माण तीव्र गतिमा अघि बढिरहेको जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘हुलाकी राजमार्गमार्फत अब हामी मेचीदेखि महाकालीसम्म जोडिन गइरहेका छौं। यसले पूर्व–पश्चिम यातायात प्रणालीमा क्रान्तिकारी सुधार ल्याउनेछ ।’ उहाँले देशभर १० देखि १२ वटा स्मार्ट सिटी निर्माण गर्ने सरकारको योजना रहेको जानकारी दिँदै यसले शहरी पूर्वाधारमा गुणस्तर वृद्धि गर्ने, व्यवस्थित शहरीकरण गर्ने र समग्र आर्थिक विकासलाई टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयाे ।

प्रधानमन्त्री ओलीले बारा जिल्लालाई माछा उत्पादनको ‘सुपर जोन’ घोषणा गरिएको जानकारी दिनुभयाे । यस घोषणाले यहाँका किसानहरुको आम्दानी चार गुणाले वृद्धि भएको दाबी गर्दै कृषिमा प्रविधि र आधुनिकीकरणमार्फत उत्पादन वृद्धि भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हामी कृषिमा नयाँ सोचसहित अगाडि बढिरहेका छौं। अब उत्पादन मात्र होइन, मूल्य अभिवृद्धि र निर्यातमुखी प्रणाली निर्माण गरी समृद्ध नेपाल बनाउने हाम्रो लक्ष्य हो ।’ उहाँले कृषि क्षेत्रमा आत्मनिर्भरता कायम गर्न सरकारले आवश्यक नीति तथा कार्यक्रम अघि सारेको पनि स्पष्ट पार्नुुभयाे ।

मधेश प्रदेशमा फैलिएको गम्भीर सुख्खा अवस्थालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल ५०० डिपबोरिङ जडान गरिने घोषणा गर्नुभयाे । उहाँले हरेक डिपबोरिङबाट कम्तीमा ६० विघा जमिन सिचाइँ गर्न सकिने जानकारी दिँदै सरकारले अहिलेको संकटलाई योजनाबद्ध ढंगले सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयाे।

मधेश आउँदै गर्दा प्रधानमन्त्री ओलीले सर्लाहीदेखि खेतबारीको हवाइ अवलोकन गर्नुभएकाे थियाे । अधिकांश ठाउँमा धानबाली नलागेको अवस्थामा उहाँले चिन्ता व्यक्त गर्नुभयाे भने बारामा भने धान रोपिएको देख्दा सन्तोष लागेको बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले चुरे क्षेत्रको संरक्षण तथा भूजल सन्तुलन कायम गर्न पानीको रिजर्भवायर निर्माण र तालतलैया निर्माणको योजना अघि सार्नुभएकाे छ। उहाँले भू-जल सन्तुलनका लागि रिचार्ज सिस्टम विकास गरिने जनाउँदै जमिनको सतहको पानी भूगर्भमा पुनः पठाउने वातावरण तयार पारिने बताउनुभयाे। यस योजनाबाट चुरे क्षेत्रको जैविक विविधता जोगाउन र सिँचाइ प्रणालीलाई सुदृढ बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो। उहाँले संकटग्रस्त क्षेत्र घोषणा मात्र गरेर जनताको पिडा समाधान नहुने भन्दै तत्कालीन तथा दीर्घकालीन उपायहरू अघि सारिने उल्लेख गर्नुभयाे ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशका अधिकांश जिल्लामा सडक तथा पुल निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिनुभयाे । तर केही निर्माण कार्यमा ठेकेदारको लापरवाहीका कारण ढिलाइ भएको उल्लेख गर्दै सरकारले ती ढिलाइ हटाउन कडाइका साथ अघि बढ्ने बताउनुभयाे। उहाँले मधेशको भौतिक पूर्वाधार विकासले जनजीवनमा सहजता ल्याएको उल्लेख गर्दै अझ तीव्र गतिमा विकास अघि बढ्ने आश्वासन दिनुभयाे ।

राजनीतिक स्थायित्वबारे बोल्दै प्रधानमन्त्री ओलीले नेपालको प्रमुख चुनौती राजनीतिक अस्थिरता रहेको बताउनुभयाे। उहाँले सरकार र प्रतिपक्ष दुबै पक्षले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह नगरेको आरोप लगाउँदै अहिलेको एमाले र कांग्रेसबीचको सरकारले सात बुँदे सहमतिका आधारमा संयुक्त सरकार गठन पछि बनेको सरकारले मुलुक स्थायित्वको दिशामा अघि बढिरहेको बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले अबको यात्राको मुख्य आधार समृद्धि रहेको उल्लेख गर्दै नेपाल अब अल्पविकसित राष्ट्रको सूचीबाट निक्लने अवस्थामा पुगेको बताउनुभयाे। ‘केही पनि भएको छैन भन्नु गलत हो,’ उहाँले भन्नुभयाे, ‘केही काम बाँकी छन् भन्नु उपयुक्त हो ।’ उहाँले सबै क्षेत्रको समुचित विकासमार्फत ‘नयाँ नेपाल’ निर्माण गर्ने संकल्प दोहोर्याउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस