घोराही, १६ साउन । बुद्ध ईन्टरनेशनल हस्पिटल प्रा.लि., घोराही–१५ दाङ र युरो किड्स स्कुलबीच आपसी सहकार्यमा छुट सम्बन्धी सम्झौता भएको छ ।
शुक्रबार भएको सम्झौता अनुसार अबदेखि युरो किड्स स्कुलका सम्पूर्ण विद्यार्थी, कर्मचारी लगायत सम्पूर्ण परिवारलाई बुद्ध ईन्टरनेशनल हस्पिटलबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवामा १० प्रतिशत छुट दिइनेछ भने औषधि (फार्मेसी) खरिदमा ७ प्रतिशत छुट उपलब्ध गराइने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले जानकारी दिनुभयो ।
सम्झौता अनुसार सदस्यहरूले ओ. पि. डि., भर्ना, आकस्मिक सेवा, प्रयोगशालासम्बन्धी परीक्षण, सर्जरी तथा अन्य सम्पूर्ण उपचार सेवाहरूमा छुट प्राप्त गर्न सक्ने हस्पिटलले जनाएको छ । उक्त छुट तेस्रो पक्षद्वारा लाग्ने शुल्क (जस्तै बाह्य प्रयोगशाला सेवाहरू) मा मान्य नहुने उल्लेख छ ।
त्यसैगरी हस्पिटलका सम्पूर्ण कर्मचारी तथा परिवारका बच्चा–बच्चीहरूलाई युरो किड्स स्कुलमा भर्ना शुल्कमा २० प्रतिशत र मासिक शुल्कमा १० प्रतिशत छुट दिने युरो किड्सका प्रिन्सिपल सुधीर बस्यालले बताउनुभयो ।
छुट प्राप्त गर्नको लागि दुबै संस्थाका सदस्यले सम्बन्धित संस्थामा आबद्ध भएको प्रमाणस्वरूप परिचयपत्र तथा सोको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । सम्झौतामा उल्लेख भएको बराबर अन्य छुट योजनाको हकमा यो सम्झौता लागू हुनेछैन ।
यस सम्झौताबाट दुबै संस्थाका सदस्यहरूलाई फाइदा पुग्ने साथै दुई संस्था बीचको सम्बन्ध प्रगाढ हुने विश्वास लिएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले बताउनुभयो ।
सम्झौता पत्रमा बुद्ध ईन्टरनेशनल हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालाराम शर्मा र युरो किड्स स्कुलका तर्फबाट प्रिन्सिपल सुधीर बस्यालले हस्ताक्षर गर्नुभएको थियो ।












