दाङ, १८ साउन । नेपाल संस्कृत विश्वविद्यालय प्रगतिशील प्राध्यापक संगठन र कर्मचारी संगठनको संयुक्त भेला तथा अन्तर्क्रिया कार्यक्रम शनिबार घोराहीमा सम्पन्न भएको छ । प्राध्यापक संगठनका केन्द्रीय सदस्य तथा नेपाल संस्कृत विश्वविद्यालय ईञ्चार्ज सुधिर कुमार पोख्रेलको अध्यक्षता र केन्द्रीय सचिव भुवनेश्वर लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा संगठनका लागि महत्वपूर्ण योगदान गरेको भन्दै संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष लेखनाथ आचार्य, निवर्तमान अध्यक्ष श्रीधर मजगैयाँ, पूर्व शिक्षाध्यक्ष भागवतप्रसाद शर्मा, प्राध्यापकहरु ईश्वर पोख्रेल, ऋषभ गौतम, पूर्व सहप्रशासक शरद गौतम र पूर्व कर्मचारी श्याम बहादुर नेपालीलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरुले निवृत प्राध्यापक र कर्मचारीहरुलाई सम्मान गर्ने परिपाटीले नयाँ र पुरानो पुस्तालाई जोड्न सघाउने धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले विश्वविद्यालयको उन्नतिका लागि सबै क्षेत्रको चिन्ता र चासो आवश्यक रहेको बताउनुभयो । विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले विश्वविद्यालयलाई समयानुकुल विकास गर्न विभिन्न योजनाका साथ अघि बढिरहेको बताउनुभयो ।
संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सुधन कुमार पौडेलले विश्वविद्यालयको प्राज्ञिक उन्नतिका लागि सबैको साथ सहयोग आवश्यक पर्ने बताए । एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले संस्कृत विश्वविद्यालयको महिमा र गरिमा बचाउने गरी काम गर्न आवश्यक रहेको बताए । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालय प्रगतिशील कर्मचारी संगठनका अध्यक्ष गणेश वलीले कर्मचारीको हकहितको विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्राध्यापक र कर्मचारी संगठनका समस्या तथा विश्वविद्यालयका चुनौती र सम्भावनाबारे छलफल भएको थियो । सह प्राध्यापक रघुनाथ नेपालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन उपप्राध्यापक शिवप्रसाद न्यौपानेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस