दाङ, ११ भाद्र । नेपाल संस्कृत विश्वविधालयको आयोजनामा यही असोज २५ देखि २७ गतेसम्म बेलझुण्डीमा हुन थालेको “अन्तर्राष्ट्रिय योग सम्मेलन” सफल पार्न व्यापक तयारी भैरहेको छ । सम्मेलनका उपसमितिहरूको बैठक बुधबार बेलझुण्डीमा बसेको छ । बैठकमा उपसमिति संयोजकहरूले हालसम्म भएका तयारीबारे जानकारी गराएका थिए ।
सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । सम्मेलनभर ५० देशका ५ हजार बढी मानिसहरूको सहभागिता हुँदैछ भने उद्घाटनमा १० हजार बढी सहभागी हुँदैछन् ।
सम्मेलन उद्घाटनका अवसरमा विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिने छ । सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत गर्ने तयारी छ । सम्मेलनका क्रममा १ हजार जनाले सामूहिक योग गर्ने कार्यक्रम रहेको मूल आयोजक समितिका संयोजक प्रा.डा. सुधन कुमार पौडेलले बताउनुभयो । विश्वशान्ति र मानव कल्याणका लागि योग सम्पदाको पुनरुत्थान एवं विश्वव्यापीकरण गर्ने लक्ष्यका साथ योग सम्मेलन गर्न लागेको उहाँले बताउनुभयो ।
सम्मेलनमा सहभागी हुने अतिथिहरूलाई निमन्त्रणा गर्ने र कार्यक्रमको रूपरेखा तयार पार्ने काम पूरा भएको सम्मेलनका अन्तराष्ट्रिय संयोजक भोलानाथ योगीले बताउनुभयो । सम्मेलन सम्पन्न गर्न पतञ्जली योग समिति लगायत विभिन्न संघ संस्थाहरूले सहयोग गरिरहेका छन् ।
कार्यक्रमबारे जानकारी दिन यही भदौ १३ गते शुक्रबार दिउँसो १ बजे पतञ्जली हल घोराहीमा पत्रकार सम्मेलन गर्ने निर्णय भएको प्रचारप्रसार उपसमिति संयोजक दुर्गालाल केसीले जानकारी दिनुभयो ।

