दाङ, १४ भदौ । नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले निजी विद्यालयमाथि अन्याय नहुने बताउनु भएकाे छ। विद्यालय शिक्षा विधेयक निजी विद्यालयको हित विपरीत रहेको भन्दै आन्दोलनरत निजी विद्यालयहरुको छाता सङ्गठनको ज्ञापनपत्र बुझ्दै नेता चौधरीले निजी विद्यालयमाथि अन्याय नहुनेमा विश्वास गर्न आग्रह गर्नुुभएकाे हाे।

शनिबार प्याब्सन दाङले बुझाएको ज्ञापनपत्र बुझ्दै पूर्व मन्त्रीसमेत रहनुभएका चौधरीले निजी विद्यालयका पक्षमा आफूले सदनमा कुरा उठाउने बताउनुभयाे । ‘नेपालको शैक्षिक उन्नयनमा निजी विद्यालयहरुको योगदान महत्वपूर्ण छ । निजी विद्यालयको योगदानलाई सरकारले अवमूल्यन गर्न मिल्दैन । लगभग ५४ वर्षपछि आउन थालेको शिक्षा ऐन निजी विद्यालयको पक्षमा उदार रहन आवश्यक छ । सदनमा यस विषयमा मैले मेरो पार्टीको तर्फबाट निजी विद्यालयका पक्षमा धारणा राख्ने छु । निजी विद्यालयमाथि अन्याय हुन दिने छैन ।’ ज्ञापनपत्र बुझ्दै नेता चौधरीले थप्नुभयाे, ‘शिक्षा निजी विद्यालयका लागि चेन होइन चैन हुनुपर्छ । राज्यकै प्रतिष्ठा बढाउँदै आएका निजी विद्यालयलाई बाइपास गर्ने खालको शिक्षा ऐन बनाउन सरकारलाई छुट छैन र सरकारले बाइपास गर्दैन पनि ।’

यतिबेला देशभरबाट प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रतिनिधिहरुलाई निजी विद्यालयका छाता सङ्गठनहरुले ज्ञापनपत्र बुझाइरहेका छन् । सोही कार्यक्रमबिच प्याब्सन दाङ तथा प्याब्सन दाङ अन्तर्गतका प्याब्सन लमही, प्याब्सन गढवा र प्याब्सन राप्तीको उपस्थितिमा नेता चौधरीलाई ज्ञापनपत्र बुझाइएको हो । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य रेशमबहादुर बुढा, प्याब्सन लुम्बिनी प्रदेशका सदस्य राजु यादव, प्याब्सन दाङका उपाध्यक्ष शोभाखर भुषाल, प्याब्सन लमहीका अध्यक्ष नारायण भुषालले निजी विद्यालयका समस्या तथा मागबारे धारणा राख्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस