घोराही । ‘मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो’ भन्ने पवित्र आस्था आत्मसात गर्दै नेपाल जेसीजले देशैभर एकैसाथ रक्तदान अभियान सञ्चालन गर्ने भएको छ । त्यसैअनुरूप त्रिभुवननगर जेसीजले दाङमा पनि विशेष रक्तदान कार्यक्रम गर्न लागेको छ ।
हाल देशका विभिन्न अस्पतालमा रगतको अभाव तीव्र भएको र रगत नपाएर बिरामीको उपचारमा समस्या देखिएको सन्दर्भमा नेपाल जेसीजले नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी अभियान अघि बढाउने निर्णय गरेको हो । त्रिभुवननगर जेसीजका अध्यक्ष टंक बहादुर रावतका अनुसार मानवीय संकटलाई न्यूनीकरण गर्ने र ‘रक्तदान जीवनदान’ भन्ने भनाईलाई व्यवहारमा उतार्ने उद्देश्यले यो अभियानको आयोजना गरिएको हो ।
कार्यक्रम भोलि २०८२ भाद्र २५ गते बुधबार बिहान ८ः०० बजेदेखि घोराही–१५ तुलसीपुर चोकमा हुने जनाइएको छ । सो दिन स्वेच्छाले दिइने प्रत्येक थोपा रगतले कुनै न कुनै जीवनलाई नयाँ आशा दिलाउने भएकाले यस अभियानमा सबैलाई सहभागी हुन जेसीजले हार्दिक आह्वान गरेको छ ।
संस्थाले मानवताको सेवा गर्नु नै जीवनको सर्वोत्तम कार्य भएकाले समाजका प्रत्येक सचेत नागरिकले आफ्नो तर्फबाट योगदान दिनु पर्नेमा जोड दिएको छ । त्रिभुवननगर जेसीजले मानवीय सेवाको यस महान् अभियानलाई सफल पार्न सम्पूर्ण संघ–संस्था, सरोकारवाला निकाय तथा समाजका प्रत्येक व्यक्तिको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ ।

