नुवाकोट, ३ असोज । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले विगतका कमजोरी सच्याउँदै पार्टीलाई नयाँ ढंगले अघि बढाउने बताउनुभएको छ । नुवाकोटमा शुक्रबार एमाले जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले संविधानलाई नेपाली जनताको सात दशक लामो संघर्षको दस्तावेज र राष्ट्रिय एकताको सूत्राधार भएको बताउनुभयो ।
संविधान बनाउँदा आन्तरिक तथा बाह्य दवाव रहे पनि सार्वभौम जनताका प्रतिनिधिमार्फत जारी गर्न सफल भएको स्मरण गर्दै उहाँले भूकम्प र नाकाबन्दी जस्ता चुनौतीपछि पनि नेपाली जनताले संविधानलाई आत्मसात गरेको उल्लेख गर्नुभयो । ‘यो संविधान धेरै प्रगतिशील छ । जारी हुदा तत्कालीन शक्ति सन्तुलनको दस्तावेज पनि हो । यसलाई समयानुकूल परिमार्जन र संशोधन गर्न सकिन्छ,’ ज्ञवालीले भन्नुभयो, ‘तर अहिले संविधान नै संकटमा परेको छ । संविधानले नचिनेको सरकारले चुनाव गर्ने भनेको छ, संविधान जोगाउन चुनाव अपरिहार्य हुन्छ ।’
ज्ञवालीले भदौ २३ र २४ गतेका घटनामा सुरक्षा निकायको भूमिका गम्भीर रूपमा समीक्षा र छानबिन गर्नुपर्ने बताउनुभयो । ‘सैनिक मुख्यालय नजिकै सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति कार्यालय जस्ता महत्वपूर्ण निकाय सुरक्षित राख्न नसक्ने सुरक्षा संयन्त्रले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सक्छ भन्नेमा संशय पैदा भएको छ,’ उहाँको भनाइ थियो ।
पार्टी नेतृत्व र कार्यकर्ताबीचको सम्बन्धबारे पनि उहाँले आत्मालोचनात्मक टिप्पणी गर्नुभयो । ‘हाम्रा कमजोरी हटाएर अघि बढ्छौं । कतिपय अपेक्षा पूरा गर्न नसकिएका वा गल्ती भएका हुन सक्छन् । तर अब केन्द्रीय कमिटी लगायतका फोरममा छलफल गरेर नयाँ ढंगले अघि बढ्छौं,’ उहाँले स्पष्ट पार्नुभयो ।
भर्खरै पार्टी अध्यक्ष केपी शर्मा ओली सुरक्षाको घेराबाट बाहिरिएको बताउँदै उहाँले नेतृत्वमाथि विभिन्न कोणबाट प्रहार गर्ने नियोजित प्रयास भइरहेको दाबी गर्नुभयो । कार्यकर्तालाई यस्ता बहकाउमा नपर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘हामी गम्भीर समीक्षा गरेर अघि बढ्छौं, अहिले नेतृत्वमाथि प्रहार गर्ने भाष्य निर्माण रोकिनुपर्छ ।’
                
		











