घोराही, १२ माघ । ज्ञानकुञ्ज इङ्लिस स्कुल घोराही ९ बकुलाहीको १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख वक्ता घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख नारायण प्रसाद पौडेलले वैदेशिक पलायनलाई रोक्न सक्ने शिक्षा अहिलेको अपरिहार्य आवश्यकता रहेको औल्याउनुभयो । प्रमुख अतिथि पौडेलले आधुनिक प्रविधिको दुरुपयोगले बालबालिकाहरुमा नकारात्मक प्रभाव बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले आधुनिक प्रविधिको प्रयोगबाट लिन सकिने फाइदा र यसका बेफाइदाका बारेमा विद्यार्थीहरुलाई सुसूचित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीले ग्रामीण क्षेत्रमा स्थापना भएको ज्ञानकुञ्ज विद्यालयले सैद्धान्तिक शिक्षासँगै व्यवहारिक शिक्षामा जोड दिएकोप्रति प्रशंसा व्यक्त गर्नुभयो । बाह्रौं वसन्त पार गरिरहेको ज्ञानकुञ्जले आगामी वर्षहरुमा थप शैक्षिक उन्नयन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष सुन्दर शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य केशब शाह, विद्यालयका प्रिन्सिपल लोकेन्द्र चन्दलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले विज्ञान प्रदर्शनीका साथै नृत्यहरु प्रस्तुत गरेका थिए । यसैबिच वार्षिकोत्सवको पूर्वार्धमा सञ्चालित खेलकुद सप्ताहमा सबैभन्दा धेरै पदक विजेता अन्नपुर्ण सदनलाई सर्वोत्कृष्ट सदन घोषणा गरि सिल्ड प्रदान गरिएको थियो ।

विद्यालयका प्रवन्ध निर्देशक सन्दिप शाहको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण शिक्षिका तारा बस्नेतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस