माघ, २२ दाङ । सरकारले आजदेखि किशोरीहरूलाई मानव पेपिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान सुरु गरेको छ। यो अभियान पाठेघरको मुखको क्यान्सर रोक्ने उद्देश्यले सञ्चालन गरिएको हो, जसको प्रमुख कारक एचपिभी भाइरस मानिन्छ। यस अन्तर्गत विद्यालय जाने ६ देखि १० कक्षासम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षका किशोरीहरूलाई खोप लगाइने छ।

जिल्लामा कुल ३९ हजार ४५० जना किशोरीहरूलाई खोप लगाइने योजना छ। यसमा विद्यालयमा अध्ययनरत ३७ हजार २०५ जना र विद्यालय बाहिर रहेका २ हजार २४५ जना किशोरी समावेश छन्। जिल्लामा ४४७ वटा खोप केन्द्र तोकिएको छ, जसमा ४३५ वटा विद्यालयमा र १२ वटा विद्यालय बाहिर रहेका छन्।

यस अभियान अन्तर्गत घोराही उपमहानगरपालिकामा १२ हजार ६७८ जना, बंगलाचुली गाउँपालिकामा १ हजार ३०२ जना, तुलसीपुर उपमहानगरपालिकामा ११ हजार ४४२ जना, शान्तिनगर गाउँपालिकामा १ हजार ५१० जना, बबई गाउँपालिकामा १ हजार ८३५ जना किशोरीहरूलाई खोप लगाइनेछ।  यसैगरी, दंगीशरण गाउँपालिकामा १ हजार ९१ जना, लमही नगरपालिकामा ३ हजार ३३२ जना, राप्ती गाउँपालिकामा २ हजार ८१२ जना, गढवा गाउँपालिकामा २ हजार ८६ जना र राजपुर गाउँपालिकामा १ हजार ३६२ जना किशोरीहरूलाई खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएकाे छ ।

यो खोप अभियान आज माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ। देशभरका १६ लाख ८८ हजार ६६८ जना किशोरीहरूलाई यस अभियान अन्तर्गत खोप लगाइने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस