माघ, २२ दाङ । पाठेघरको मुखको क्यान्सर विरुद्धको मानव पेपिलोमा भाइरस (एचपिभी) खोप आजदेखि सुरु भएको छ । यसै अवसरमा घोराही उपमहानगरपालिका १६ को खोप कार्यक्रम ज्ञानमाला एकेडेमीबाट शुभारम्भ गरिएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष तारा बहादुर डाँगीको अध्यक्षतामा उद्घाटन गरिएको खोप कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेश बस्नेतले छात्राहरुलाई निर्धक्कसँग खोप लगाउन आग्रह गर्नुभएको थियो । शुभारम्भका अवसरमा शहरी स्वास्थ्य केन्द्र करौंतीडाँडाका इन्चार्ज प्रकाश आचार्यले छात्राहरुलाई खोपका बारेमा जानकारी गराउनुभएको थियो ।
आजदेखि शुभारम्भ भएको खोप कार्यक्रममा कक्षा ६ देखि १० सम्मका ४२ जना छात्राहरुले खोप लगाएकाछन् ।
सरकारले आजदेखि किशोरीहरूलाई मानव पेपिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान सुरु गरेको छ। यो अभियान पाठेघरको मुखको क्यान्सर रोक्ने उद्देश्यले सञ्चालन गरिएको हो, जसको प्रमुख कारक एचपिभी भाइरस मानिन्छ। यस अन्तर्गत विद्यालय जाने ६ देखि १० कक्षासम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षका किशोरीहरूलाई खोप लगाइदै छ।

