घोराही, २३ माघ । नेकपा एमाले जिल्ला कमिटी दाङको बैठक पार्टी कार्यालय घोराहीमा सम्पन्न भएको  छ । जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा बसेको बैठकले फागुन ५ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा वलीको विशेष उपस्थितिमा हुने जनसभामा ५० हजार बढी जनसहभागिता गराउने सङ्कल्प गरेको छ ।

बैठकले घोराहीमा हुने विशाल जनसभालाई व्यवस्थित बनाउन जिल्ला अध्यक्ष शिवकुमार आचार्यको संयोजकत्वमा  १ सय ७६ सदस्यीय मूल व्यवस्थापन समिति  गठन गरेको छ । त्यस्तै जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको संयोजकत्वमा जनपरिचालन उपसमिति,  जिल्ला सचिव श्याम डाँगीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, सचिवालय सदस्य सुदन केसीको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, प्रचार विभाग प्रमुख संगीत बस्यालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

पार्टी कार्यालय भरतपुरमा बसेको बैठकले जनसभामा दाङका १० वटै पालिका र १०० वटा वडा कमिटी तथा  सम्पूर्ण जनवर्गीय संगठनहरु सबै आ-आफ्नो पेशागत झाँकी जुलुस र पोसाकसहित र्‍यालीमा सहभागिता जनाउन निर्देशन समेत दिएको छ ।  बैठकले माघ २५ गते १० वटै पालिका कमिटीको बैठक बस्ने, २६ गते क्षेत्रीय निर्वाचन समन्वय कमिटीको बैठक बस्ने र २७ गते  प्रदेशसभा समन्यव कमिटीको बैठक बसेर फागुन ५ गतेको जनसभालाई थप व्यवस्थित र योजना बनाउने निर्णय समेत गरेको छ । जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा दाङका १० वटै पालिका कमिटीका अध्यक्षहरुले रिपोर्टिङ गर्नुभएको थियो ।

बैठकले भूमि समस्या समाधान आयोग दाङको अध्यक्षमा जिल्ला कमिटीका पूर्व अध्यक्ष हुकुम बहादुर बस्नेत मन्त्री परिषद् बैठकबाट मनोनित हुनुभएकोमा  बधाई ज्ञापन गरेको छ । त्यस्तै  २०७९ को निर्वाचनमा नेकपा एमालेका तर्फवाट निर्वाचित घोराही उपमहानगरपालीका वडा नं. ८ का  अध्यक्ष जितेन्द्र शाहलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख  संगीत बस्यालले जानकारी दिनुभयो ।

बैठकमा प्रमुख अतिथि पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा वली दाङ आउने अवसरलाई उत्सवका रुपमा लिन आग्रह गर्नुभएको छ । ‘प्रधानमन्त्री दाङ आएर सम्बोधन गर्ने कुराले यहाँको विकास र समृद्धिमा ठुलो टेवा पुग्छ । यो कुरालाई महत्व दिएर आफ्नो जिम्मेवारी पूरा गर्नुस’ उहाँले भन्नुभयो । दाङले विकासको लय पकडेको भन्दै घोराही उपमानगरपालिकाका प्रमुख समेत रहनुभएका नेता चौधरीले अनावश्यक राजनीति गरेर विकासको लयलाई अवरोध नगर्न सम्बन्धित राजनैतिक दलहरुलाई अनुरोध समेत गर्नुभयो ।

बैठकमा जिल्ला अध्यक्ष  शिवकुमार आचार्यले अहिलेसम्म सम्पादन भएका कामहरु र आगामी योजनाहरु प्रस्तुत गर्नुभएको थियो । तत्काललाई फागुन ५ र त्यसपछि मिसन ८४ लाई ध्यानमा राखेर काममा केन्द्रित हुन निर्देशन दिनुभयो । बैठकमा केन्द्रीय सदस्यहरु जीवन गौतम, घनश्याम पाण्डे, भागवत विश्वाशी, कोमल वली, सीता सिग्देल न्यौपाने, साजिदा सिद्धिकी सहितका नेताहरुको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण जिल्ला सचिव श्याम डाँगीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस