दाङ, ३० माघ । घोराही उपमहानगरपालिकाले नगरलाई लैंगिक हिंसा नियन्त्रित बनाउनका लागि विद्यालयबाटै अभियान सञ्चालन गरेको छ । नगरको महिला बालबालिका तथा सामाजिक विकास शाखाले सामुदायिक र संस्थागत विद्यालयहरुमा लैंगिक समानता, मेलमिलाप, शान्ति कायम र एक अर्कालाई सम्मान गर्ने बाताबरण तयार पार्ने गरी अभिमुखिकरण सञ्चालन गरेको हो । शाखाले शिक्षक, अभिभाबक, विद्यार्थीहरुलाई एउटै थलोमा राखेर नगरले थालेको लैंगिक हिंसा नियन्त्रित कार्यक्रमका बारेमा जानकारी गराएको छ ।
विद्यालयबाट शिक्षक, अभिभाबक र विद्यार्थीहरुको प्रतिनिधीमूलक उपस्थिती गराई लैंगिक हिंसा नियन्त्रित नगर घोषणाको कार्यक्रमका बारेमा जानकारी गराउने काम भएको शाखा प्रमुख मोतिकुमारी विश्वकर्माले जानकारी दिनुभयो । विज्ञहरुबाट यस अभियानका बिषयमा विद्यालयलाई जानकारी गराईएको र विद्यालयले कक्षा कोठामा यस अभियान विद्यार्थीहरुलाई सिकाईकारुपमा जोड्ने गरी अभिमुखिकरण गरिएको उहाँले बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेले सामाजिक विकासको मुख्य आधार भनेकै समानता भएको उल्लेख गर्दै नगरले लिंगका आधारमा कुनै पनि विभेद हुन नदिने कार्यक्रम ल्याएको बताउनुभयो । सामाजिक विकास अन्तगत मानविय विकासको ठूलो अर्थ हुने भएकाले त्यसका लागि घरपरिवार, विद्यालय, सामाजिक क्षेत्रमा लैंगिक समानता अपरिहार्य भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले मानसिकरुपमा सबै मानिस स्वस्थ हुनुपर्ने बताउनुभयो । त्यसका लागि घरेलु हिंसा र महिला, पुरुष वा तेस्रो लिंगी भएकै आधारमा हुने र भए गरेका कुनै पनि विभेदलाई नगरलाई नियन्त्रण गरेर अघि बढ्ने कार्य योजनाका साथ काम गरिरहेको जानकारी दिनुभयो । व्यक्ति, घरपरिवार र समाजमा कुनै पनि विभेद हुननहुनेमा उहाँको जोड छ । साथै कोही व्यक्ति कुनै पनि विभेदमा परे प्रहरी, अदालत वा स्थानीय सरकारको न्यायीक समितिमा आउनु पर्ने समेत बताउनुभयो । विज्ञकारुपमा प्रशिक्षण दिदै दुर्गालाल केसीले विभेद रहित समाज बनाउनु अहिलेको अपरिहार्यता भएको बताउनुभयो । हिंसा सहने प्रबृतीलाई निरुत्साहित गर्दै अन्यायका बिरुद्ध बोल्न सक्नुपर्नेमा उहाँले जोड छ ।
अबको २ बर्षमा नगरलाई लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गर्ने गरी शाखाले विभिन्न सरोकारवालाहरु सँग यसका बिषयमा अभिमुखिकरण गर्दै आएको छ । टोल विकास संस्थाहरुलाई बढी परिचालन गरेर सचेतनाको बिषयलाई प्रभावकारी ढंगले सञ्चालन गरिएको शाखा प्रमुख विश्वकर्माको भनाई छ । अभिमुखिकरण कार्यक्रममा लैङ्गिक हिंसा निवारणको आबस्यकता तथा सुचकका बिषयमा जानकारी गराउने गरिएको छ ।












