घोराही, ७ फाल्गुन । घोराही उपमहानगरपालिका १३ डुमरगाउँस्थित ज्ञानज्योती एजुकेसनल एकेडेमीले आफनो १५ औं वार्षिकोत्सबका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार जेष्ठ नागरिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

घोराही उपमहानगरपालिका १६ तेरौटेमा अवस्थित जेष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित बृद्धाश्रमका जेष्ठ नागरिकहरुसँग विद्यालयले भेटघाट तथा सहयोग हस्तान्तरण गरेको शिक्षक नवीन आचार्यले जानकारी दिनुभयो । उक्त अवसरमा विद्यालयले जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भोपाल गिरिलाई १० हजार ५५ रुपैया सहयोग रकम हस्तान्तरण गरेको थियो । यसैगरी बृद्धाश्रममा रहेका २१ जना जेष्ठ नागरिकहरुलाई विद्यार्थीहरुले फलफुल वितरण गर्नुका साथै जेष्ठ नागरिकको स्वास्थ्य एवम् पारिवारिक अवस्थाका बारेमा सोधपुछ गरेका थिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष ओमबहादुर घर्तीको अध्यक्षता एवम् जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भोपाल गिरिको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविलाल घर्ती, विद्यालयका प्रिन्सिपल लक्ष्मी प्रसाद बुढामगरलगायतले आफ्ना धारणाहरु राख्नुभएको थियो । कक्षा ८, ९ र १० का विद्यार्थीहरुको सहभागीता रहेको उक्त कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक थम्मन बस्नेतले गर्नुभएको थियो ।

आज रक्तदान हुने

यसैबिच वार्षिकोत्सबको तेस्रो दिन आज बुधबार विद्यालयले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेकाे छ । रगत अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस र रगत अभावलाई न्यूनीकरण गर्नका लागि पनि रक्तदान कार्यक्रम राखिएको शिक्षक नवीन आचार्यले बताउनुभएको छ । उहाँले रक्तदान कार्यक्रम मार्फत विद्यार्थीहरुलाई मानविय सेवामा लाग्न उत्प्रेरित गर्ने उद्देश्य रहेको बताउनुभयो । साथै आजको रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्न उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस