महेश बस्नेत
घोराही, ८ फाल्गुन । घोराही उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुदन शर्मा (मुनाल घिमिरे)ले आर्थिकरुपमा विपन्न विद्यार्थी शिक्षाबाट बञ्चित हुन आफुले नदिने उल्लेख गर्नुभयो । घोराही उपमहानगरपालिका ४ गोग्लीस्थित डिभाइन एकेडेमीको १७ औं वार्षिकोत्सबका अवसरमा उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडा अध्यक्ष मुनाल घिमिरेले आर्थिक अवस्थाका कारण कुनै विद्यार्थी शिक्षाबाट बञ्चित भएको अवस्था छ भने त्यस्ता विद्यार्थीहरुका लागि वडा सरकारले जिम्मा लिने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘कमजोर आर्थिक अवस्थाकै कारण यदि तपाईंले शैक्षिक शुल्क भुक्तानी गर्न सक्नुभएको छैन भने वडा कार्यालयमा आउनुस्, वडाबाट आफुले शुल्क भुक्तानीदेखि शैक्षिक सामग्रीहरुको व्यवस्था गरिदिन्छु ।’ वडा अध्यक्ष घिमिरेले भन्नुभयो । उहाँले डिभाइन एकेडेमीले विद्यार्थीहरुको क्षमता विकाससँगै अतिरिक्त गतिविधिका सवालमा यस क्षेत्रमै अग्रणी भूमिका निभाइरहेको उल्लेख गर्दै विद्यालयको प्रशंसा गर्नुभयो ।
कार्यक्रमका अर्का वक्ता प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दले स्थानिय सरकार र निजी विद्यालयहरु समन्वय गरेर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । नेपालको शिक्षा क्षेत्रमा निजी विद्यालयले ठुलो योगदान दिएको उल्लेख गर्दै उहाँले सामुदायिक र निजी विद्यालयलाई एउटै व्यवहार गर्नुपर्ने उल्लेख गर्नुभयो । राज्यले बेहोर्नुपर्ने ठुलो भार निजी विद्यालयले बहन गरेको उल्लेख गर्दै निजी विद्यालयलाई फरक दृष्टिकोणबाट नहेर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका चन्दले बालबालिकाहरुको रुचिअनुरुप लक्ष्य निर्धारण गराउन अभिभावकले सहयोगी भूमिका निभाउनुपर्ने बताउनुभयो । अभिभावकको चाहाना अनुरुप भविष्य निर्माण गर्न बालबालिकालाई दबाब दिन नहुने उहाँले अनुरोध गर्नुभयो । कार्यक्रमका अर्का वक्ता प्याब्सन घोराही नगर कमिटीका सचिव बिमल भण्डारीले शहरी क्षेत्रभन्दा टाढा रहेको डिभाइन एकेडेमीले विद्यार्थीको प्रतिभा उजागरमा महत्त्वपुर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल विलास घिमिरेको अध्यक्षतामा आयोजित वार्षिकोत्सब समारोहमा विद्यार्थीहरुले विज्ञान परियोजना कार्यको प्रदर्शनी गरेका थिए । यसैगरी विद्यार्थीहरुले गीत, नृत्य, कविता र जनचेतनामूलक सम्वाद प्रस्तुत गरेका थिए । कार्यक्रममा गत वर्षको वार्षिक परीक्षामा कक्षा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । वार्षिकोत्सबका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
वार्षिकोत्सब समारोहमा प्याब्सन घाेराहीका उपाध्यक्ष मानसिंह घर्ती, बालकुञ्ज इङ्लिश बोर्डिङ स्कुल बन्जाडीका प्रिन्सिपल सोम पौडेल, डिभाइन एकेडेमीकि कक्षा ९ कि छात्रा ऐश्वर्या पौडेल, कक्षा ७ कि छात्रा प्रतिज्ञा नेपाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालयकी शिक्षिका पविता श्रेष्ठको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण शिक्षकद्वय बोधिकिरण पाण्डे र तारा भट्टराईले गर्नुभएको थियो ।
ऐश्वर्या पौडेल बनिन स्टुडेन्ट अफ द यिअर
डिभाइन एकेडेमीको १७ औं वार्षिकोत्सब समारोहमा विभिन्न विधाका वर्ष उत्कृष्ट विद्यार्थीहरुलाई अवार्ड प्रदान गरिएको थियो । अवार्ड वितरण समारोहमा कक्षा ९ कि छात्रा ऐश्वर्या पौडेललाई स्टुडेन्ट अफ द यिअर अवार्ड २०८१ ले सम्मान गरिएको थियो । विद्यालयका हरेक गतिविधिमा सक्रिय सहभागी हुने र सबै क्षेत्रमा अब्बल रहेकी छात्रा ऐश्वर्यालाई बर्ष सर्वोत्कृष्ट विद्यार्थीको अवार्ड दिइएको थियो ।
उक्त अवसरमा वर्ष उत्कृष्ट सिनियर क्याप्टेनको अवार्ड कक्षा ८ कि छात्रा एलिना केसीलाई र जुनियरतर्फको अवार्ड कक्षा ४ कि छात्रा सान्बि पुनलाई प्रदान गरिएको थियो । यसैगरी, वर्ष उत्कृष्ट नियमित विद्यार्थी अवार्ड बिजन चौधरी (एलकेजी), समर सुवेदी (कक्षा २), कर्सान खड्का (कक्षा ३), एन्जल श्रेष्ठ (कक्षा ५) र प्रशंसा न्यौपाने (कक्षा १०) लाई प्रदान गरिएको थियो ।
सरसफाइतर्फको वर्ष उत्कृष्ट अवार्ड रुक्मिना जिसी (नर्सरी), बिनिशा खत्री (युकेजी), समायरा पौडेल (कक्षा ५) र प्रतिमा खनाल (कक्षा ९) लाई प्रदान गरिएको थियो । अनुशासनतर्फ दिपिका पुन (युकेजी), उषा सुनार (कक्षा ४), विपना थापा (कक्षा ५) र अन्सरा चौधरी (कक्षा ६) लाई वर्ष उत्कृष्ट अवार्ड प्रदान गरिएको थियो । वर्षभरिका गतिविधिहरुको मुल्यांकन गरि बर्ष उत्कृष्ट कक्षाको अवार्ड कक्षा ७ लाई प्रदान गरिएको थियो ।

