विमल योगी
दाङ, ८ फागुन । दाङको धारपानीमा लाग्ने महाशिवरात्रि मेला यस वर्ष पनि तीन दिनसम्म सञ्चालन हुने भएको छ। घोराही उपमहानगरपालिका वडा नं. ५, धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा आयोजना हुने मेलामा विभिन्न धार्मिक कार्यहरू सम्पन्न गरिनेछन्।
महाशिवरात्रि पर्वको अवसर पारेर यही फागुन १२ गते १०८ गौमुखी धाराको औपचारिक उद्घाटन गरिनेछ। विभिन्न दाताहरूको सहयोगमा निर्माण सम्पन्न भएका यी गौमुखी धाराहरू सामूहिक रूपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयो।
गौमुखी धारा निर्माण भएको लामो समय भए पनि त्यसमा नियमित पानीको प्रवाहका लागि आवश्यक व्यवस्थापन पूरा भएपछि धारा सञ्चालनमा आउने भएका हुन्। ती धाराहरूमा निरन्तर पानी प्रवाह गर्न बबई खोलाको पानी लिफ्टिङ गरी पोखरीमा संकलन गरिनेछ र पाइपमार्फत गौमुखी धारामा खस्ने व्यवस्था मिलाइएको छ। उद्घाटनपछि हरेक दिन बिहान दुई घण्टा १०८ वटै गौमुखी धाराबाट भक्तजनहरूका लागि स्नानको व्यवस्था गरिनेछ।
महाशिवरात्रि पर्वकै अवसरमा फागुन १३ गते साँझ एक हजार आठवटा दीप प्रज्वलन गरिनेछ। फागुन १४ गते विधिपूर्वक भगवान शिवको पूजा–आराधना गरिनेछ। सोही दिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा नेपाली सेना, सुरक्षा निकाय, मन्दिर व्यवस्थापन समिति, भक्तजन लगायतको सहभागितामा शिव सलामीसमेत दिइनेछ।
मन्दिरको सौन्दर्य तथा आकर्षण बढाउन मठमन्दिर, तुलसी मञ्च, सिढी, प्रतीक्षालय लगायतका संरचनाहरूमा रंगरोगन गरिएको छ। मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ।












