महेश बस्नेत
घोराही, ८ फाल्गुन । मानविय विकासले मात्र समाज विकास हुने घोराही उपमहानगरपालिकाकि उपमेयर हुमा कुमारी डिसीले बताउनुभएको छ । प्याब्सन घोराही नगर कमिटीले पूर्व प्राथमिक तहका संयोजकहरुका लागि बिहिबार आयोजना गरेको एकदिने अभिमुखिकरण तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

जबसम्म मानव जातीको विकास हुँदैन तबसम्म समाज विकासको कल्पना समेत गर्न नसकिने उममेयर डिसीले उल्लेख गर्नुभयो । कार्यक्रमकि प्रमुख अतिथि समेत रहनुभएकी उपमेयर डिसीले समाजको समुन्नत विकासका लागि हरेक व्यक्तिलाई तालिमको आवश्यकता पर्ने भएकाले असल समाज निर्माणका लागि अभिमुखिकरण कार्यक्रम अत्यावश्यक रहेको उल्लेख गर्नुभयो ।

उक्त अवसरमा उपमेयर डिसीले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि राज्यले ठुलो लगानी गरेता पनि सो अनुरुपको प्रतिफल नदेखिएको बताउनुभयो । निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुको संस्था प्याब्सन घोराहीले शिक्षकहरुको क्षमता विकासका लागि निकै महत्वपुर्ण कार्यक्रम सञ्चालन गरेकाप्रति उपमेयर डिसीले सह्राना गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दले व्यवहारमा लागू नहुने सीप सिक्नुको अर्थ नहुने उल्लेख गर्नुभयो । प्याब्सन घोराही नगर कमिटीका प्रमुख सल्लाहकार समेत रहनुभएका चन्दले तालिमबाट सिकेका ज्ञान र सिपलाई विद्यार्थीहरुको भविष्य निर्माणसँग जोडेर लागू गर्नुपर्ने बताउनुभयो ।

प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षतामा आयोजित अभिमुखिकरण तालिमका प्रशिक्षकमा ज्ञान संस्कार इन्टरनेशनल स्कुल काठमाडौंकि संस्थापक प्रिन्सिपल निलम बानियाँ बडु रहनुभएको थियो । तालिममा घोराही प्याब्सनमा आबद्ध निजी विद्यालयका ५५ जना संयोजकहरुको सहभागीता रहेको थियो ।

प्याब्सन घोराही नगर कमिटीका उपाध्यक्ष मानसिंह घर्तीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस