घोराही, १० फागुन । सनलाइट कम्प्युटर इन्स्टिच्युट घोराही दाङको १५औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह रूपमा सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका-१५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले प्राविधिक शिक्षाले मात्र रोजगारीको अवसर प्रदान गर्ने भएकाले सनलाइट कम्प्युटरले दिने तालिम प्रभावकारी रहेको र आगामी दिनमा संस्थाले अझ गुणस्तरीय तालिम उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सूचना प्रविधिको क्षेत्रमा संस्थाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै भविष्यमा थप योगदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो । अर्का विशिष्ट अतिथि दाङ जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र चन्दले सीपमूलक शिक्षाको महत्त्वलाई जोड दिँदै यसको प्रयोगात्मक पक्षलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो।कार्यक्रमका सभाध्यक्ष तथा संस्थाकी प्रबन्ध निर्देशक प्रमिला डाँगीले हालसम्म १२ हजारभन्दा बढी विद्यार्थीलाई तालिम प्रदान गरिएको जानकारी दिँदै आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। इन्स्टिच्युटका वरिष्ठ प्रशिक्षक गेहेन्द्र कँवरको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो। प्रशिक्षक कँवरका अनुसार वि.सं. २०६६ सालमा स्थापना भएको संस्थाले आंशिकदेखि पूर्ण छात्रवृत्ति प्रदान गर्दै कम्प्युटरसम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ।

समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो। प्रथम स्थान हासिल गर्ने विमला नेपाली, दोस्रो स्थान हासिल गर्ने चन्द्र बहादुर बस्नेत र तृतीय स्थान प्राप्त सिद्धार्थ शर्मालाई सम्मान गरिएको थियो। साथै दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा विभिन्न सांस्कृतिक तथा साहित्यिक प्रस्तुति प्रस्तुत गरिएको थियो। यमराज पुन मगरको समूहले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने छात्राहरू रबिना चौधरी, सृजना चौधरी, सपना पुन मगर, मञ्जु पुन मगरले नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै मिलन पुन मगर, यमराज पुन मगर, पवल महरा, चन्द्र बहादुर के.सी.ले गजल तथा गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन नगेन्द्र बहादुर के.सी. र नन्दराम राना मगरले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस