घाेराही, ११ फाल्गुन । घोराही उपमहानगरपालिका वडा नम्बर १५ डुमरगाउँस्थित ज्ञानज्योति एजुकेसनल एकेडेमीले आफ्नाे १५औँ वार्षिकोत्सव सम्पन्न गरेकोछ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष ओम बहादुर घर्तीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा नगरप्रमुख चाैधरीले विद्यालयकाे नवनिर्मित भवनकाे उद्घाटन समेत गर्नुभएकाे थियाे ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले शिक्षा नै सबै क्षेत्रको विकासको आधार भएको बताउनुभएको थियाे । व्यवहारीक, सिपयुक्त र गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकोमा उहाँले जोड दिनुभयो । शैक्षिक गुणस्तरका क्षेत्रमा ज्ञानज्याेतीले गरेको प्रगति अनुकरणीय तथा प्रशंसनीय रहेको भन्दै संस्कारसहितको शिक्षामा विद्यालयले गरेका गतिविधि उदाहरणीय रहेकाे नगर प्रमुख चौधरीले बताउनुभयाे ।
कार्यक्रमका विशिष्ट अतिथि प्याब्सनका केन्द्रीय सचिव यादव गिरीले शैक्षिक गुणस्तर कायम गर्नका लागि विद्यालय, अभिभावक र विद्यार्थीका बिच त्रिकोणात्मक सम्बन्ध रहनुपर्नेमा जाेड दिनुभयाे । कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष डुल्लुराम पोख्रेल, प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण ओली, साहित्यकार डा. लोकराज पराजुली लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल लक्ष्मीप्रसाद बुढाले विद्यालयकाे वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले समयसापेक्ष शिक्षा प्रदान गर्न प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले आगामी शैक्षिक सत्रबाट प्रविधिसहितको व्यवहारिक शिक्षालाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै पठनपाठन गर्ने तयारी गरिएको बताउनुभयो । हाल करिव १ हजार विद्यार्थी अध्ययनरत ज्ञानज्योति एजुकेशनल एकेडेमीले निकट भविष्यमा कक्षा ११ र १२ को पठनपाठन गर्न तयारी समेत गरेको प्रिन्सिपल बुढाले बताउनुभयो ।
वार्षिकोत्सव समाराेहका अवसरमा विद्यार्थीले शैक्षिक सामग्रीहरुकाे प्रदर्शनी, विभिन्न सांस्कृतिक नृत्य, गीत तथा नाटक प्रस्तुत गरेका थिए । १५ औं वार्षिकोत्सवका अवसरमा विद्यालयले खेलकुद सप्ताह सञ्चालन गरेकाे थियाे । साताव्यापी कार्यक्रम अन्तर्गत विभिन्न खेलकुदका साथै सामाजिक उत्तरदायित्वका गतिविधि समेत सञ्चालन गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविलाल घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक थमन बस्नेतले गर्नुभएको थियो ।

