दाङ, १३ फागुन । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई समूहबीचको झडप नियन्त्रण गर्न पुगेका सुरक्षाकर्मीहरूको गाडीमा आगजनी गरिएको छ। लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीका अनुसार झडपपछि स्थिति नियन्त्रणमा लिन पुगेका सुरक्षाकर्मीहरूको भ्यान जलाइएको हो। उहाँले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

झडपको बढ्दो तनावलाई मध्यनजर गर्दै रुपन्देहीबाट थप ५० जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले जानकारी दिनुभयो। आज बिहान ९ बजे भएको घटनामा सुरक्षाकर्मीहरू सहित करिब १५ जना घाइते भएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार, सोमबार बेलुकी स्थानीय दुई व्यक्तिबीच विवाद भएपछि स्थिति तनावग्रस्त बनेको हो।

तीन महिना अगाडि भएको भागी विवाहको विषयले पनि स्थानीयबीच विवाद चर्काएको बताइएको छ। केटी पक्षले केटाका बुबालाई माघ महिनामा कुटपिट गरेका थिए, जसलाई मिलापत्रमार्फत समाधान गरिएको थियो। तर, सोमबार राति केटी पक्षका आफन्तहरूले केटाका भाइलाई बाटोमा रोकेर आक्रमण गरेपछि अवस्था पुनः तनावग्रस्त बनेको हो। घाइते युवकको हाल पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ।

स्थानीयबीचको झडप बढ्दै गएपछि सुरक्षाकर्मीहरूले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएका छन्। शान्ति सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा छलफल भइरहेको वडाध्यक्ष गोधनप्रसाद हरिजनले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस