काठमाडौं, १४ फाल्गुन । प्रतिनिधि सभा सदस्य मेनका कुमारी पोख्रेलले व्यवस्थित औद्योगिक क्षेत्रको निर्माण कार्यलाई अगाडि बढाउन माग गर्नुभएको छ । संसद बैठकमा बोल्दै सांसद पोख्रेलले सरकारसँग यस्तो माग गर्नुभएको हो ।
संसदको मंगलबार बसेको बैठकमा बोल्दै सांसद पोख्रेलले घोराही उपमहानगरपालिकाको वडा नम्बर ३ र ५ लाई औद्योगिक क्षेत्र घोषणा गरिएता पनि हालसम्म निर्माणको काम हुन नसकेको उल्लेख गर्नुभयो । कुनैपनि क्षेत्रको समृद्धि र विकासका लागि व्यवस्थित औद्योगिक क्षेत्रको जरुरी हुने उल्लेख गर्दै सांसद पोख्रेलले दाङ देशकै ठुलो उपत्यका भएपनि दाङमा हालसम्म व्यवस्थित औद्योगिक क्षेत्र निर्माण हुन नसकेको बताउनुभयो ।
संसद बैठकको शून्य समयमा बोल्दै सांसद पोख्रेलले दाङमा भएका अव्यवस्थित उद्योगहरुले जनताको स्वास्थ्यमा प्रभाव पारेको, प्रदुषण बढाएको उल्लेख गर्नुभयो । उहाँले लगानीकर्तालाई आकर्षित गर्न, व्यवसायीलाई प्रोत्साहित गर्न व्यवस्थित औद्योगिक क्षेत्रको आवश्यकता रहेको औंल्याउदै सांसद पोख्रेलले दाङमा यथासिघ्र छिटो व्यवस्थित औद्योगिक क्षेत्र निर्माणको कार्यलाई सुरु गर्न सरकारसँग माग गर्नुभयो ।

