दाङ, १४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महाशिवरात्रि पर्वका अवसरमा दाङको पवित्र धार्मिक तीर्थस्थल पाण्डवेश्वर धाम धारपानीको मूल मन्दिरमा पूजा अर्चना गर्नुभएको छ। घोराही उपमहानगरपालिका–५ स्थित धारपानी मन्दिरमा आयोजित विशेष पूजामा मुख्यमन्त्री आचार्यले सहभागी भई पूजा गर्नुभएको हो ।
यस अवसरमा नेपाली सेनाको एक टुकडीले त्रिशुललाइ सलामी अर्पण गरेको थियो । साथै, कार्यक्रममा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सिता शर्मा, प्रदेशसभा सदस्य लोका विश्वकर्मा, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल लगायतको विशेष उपस्थिति रहेको थियो ।
पाण्डवश्वर धाम धारपानी धार्मिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण तीर्थस्थल मानिन्छ । महाभारतकालमा पाण्डवहरू वनवासको क्रममा यहाँ आएर तपस्या गरेकाे धार्मिक मान्यता छ । सोही कारण यस स्थानको नाम ‘पाण्डवेश्वर धाम’ रहन गएको हो। यस मन्दिरमा विशेषगरी महाशिवरात्रि, हरितालिका तीज, बालाचतुर्दशी तथा अन्य हिन्दू पर्वहरूमा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ।
पाण्डवेश्वर धाम धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक रूपमा समेत आकर्षक गन्तव्य हो । यहाँस्थित प्राचीन गुफा, जलस्रोत र हरियाली वातावरणले पर्यटकहरूलाई समेत लोभ्याउने गरेको छ।












