महाेत्तरी, २२ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको आज उद्घाटन गर्नुभएको छ । महोत्तरीको गौशाला नगरपालिका-१, रामनगरमा प्रधानमन्त्री ओलीले उक्त उद्योगको उद्घाटन गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेहरूका लागि पनि सीपका साथै रोजगारी सिर्जना गर्ने बताउनुभयो । उहाँले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यसले योगदान दिने बताउनुभयाे । उहाँले उद्योगको स्थापनाले आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयासबिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेकाले उल्लेख गर्नुभयाे । सरकारले औद्योगिक विकास र रोजगारी सिर्जनालाई प्राथमिकता दिने प्रधानमन्त्री ओलीले जनाउनुभयो । उहाँले भन्नुभयो, “अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन् । यसमा प्रदेश सरकारहरू पनि अघि सरुन् ।”
आइएमई ग्रुपको उक्त उद्योग स्थापना भएसँगै नेपालमा पहिलो पटक नष्ट भएका कागजबाट नयाँ कागज उत्पादन भई आयात कम गर्न सहयोग पुग्ने बताइएकाे छ । उद्योगले करिब तीन सय जनालाई रोजगारी दिने उद्योग सञ्चालकले बताएकाछन् । नेपालमा वार्षिक करिब डेढ लाख मेट्रिक टन कागज खपत हुने गरेको छ ।

