काठमाडाैं, २७ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयलाई संविधानद्वारा सुनिश्चित सम्पत्तिको अधिकारका आधारमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। उहाँले साेमबार आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै विद्यालय क्षेत्रको विकासका लागि सरकारसँगको सहकार्यको महत्त्व पनि प्रकट गर्नुभयो।
प्रधानमन्त्री ओलीले ५ वर्ष भित्र निजी विद्यालयलाई गुठीमा लाने प्रस्तावबारे आफू अचम्मित भएको बताउनुभयो। साथै, उहाँले सरकारले शिक्षाको क्षेत्रमा लगानी गर्दै, शुल्क तिर्न नसक्ने बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयाे “शिक्षा क्षेत्रमा लगानी गर्नुस्, तर अत्यधिक मुनाफा कमाउने प्रयास नगर्नुहोस्। तपाईंहरूको उद्देश्य मुनाफा कमाउनु नभई गुणस्तरीय शिक्षा दिनु र दक्ष नागरिक उत्पादन गर्नु हो।”
प्रधानमन्त्री ओलीले विद्यालयलाई सेवा प्रदान गर्ने, जिम्मेवारी लिने र कानुनी दायरामा रहेर नाफा प्राप्त गर्न पनि सुझाव दिनुभयो। उहाँले यो क्षेत्रलाई उद्योगको रुपमा नहेरि, राष्ट्र निर्माणमा योगदान पुर्याउने माध्यमको रुपमा हेर्नुपर्नेमा जोड दिनुभयो।

