बिराटनगर, २७ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले स‌ङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा सरकार तीव्र गतिमा काम गर्दै मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा गर्दै जनताको आवश्यकताअनुसार आवश्यक संशोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा कार्य गर्ने जानकारी दिनुभयो ।

उहाँले यस प्रणालीमा सबैलाई प्रतिस्पर्धा गर्ने अवसर भएकाले व्यवस्थाविरोधी आवाज उठाउनु आवश्यक नरहेको स्पष्ट पार्दै संविधानसम्मत, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नति गर्न सकिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयाे, “हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर मुलुकलाई अघि बढाउन चाहन्छौँ । गरिबी हटाएर मात्र हामी सन्तुष्ट हुने छैनौँ, सम्पूर्ण मानवीय आवश्यकताहरू पूरा गरेर समृद्धि ल्याउन चाहन्छौँ ।” उहाँले नागरिक सर्वोच्चता भएको यो प्रणालीमा समृद्धिका लागि छिटो काम गर्न चाहने र उद्यमशीलता प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले देशको विविधता र एकता सम्बन्धी विचार प्रस्तुत गर्दै, भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई सम्मान गर्दै ज्ञान र गौरवको नेपाललाई विश्व मानचित्रमा उचाइमा पुर्याउन आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारलाई विकास र सुशासनका लागि उचित नीति बनाउन सुझाव पनि दिनुभयो ।

प्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुरुवातमा धेरै काम भएको बताउनुभयाे । उहाँले यस व्यवस्थामा भएको परिवर्तनले स्थितिमा सकारात्मक सुधार ल्याएको बताउनुभयो । “समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय लक्ष्यलाई पूरा गर्न सबैले एकजुट भएर काम गर्न आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले कृषि, उद्योग, पर्यटन, सेवा, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगारीका क्षेत्रहरूमा सरकारको उल्लेखनीय कामको बारेमा जानकारी दिँदै बेरोजगारी हटाउन उद्यमशीलतामा जोड दिनुभयाे । साथै, सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना बारे पनि प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस