घोराही, २८ फाल्गुन । घाेराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले होटल व्यवसाय आर्थिक विकासको मुख्य आधार रहेकाे बताउनुभएको छ । दाङ देउखुरी हाेटल व्यवसायी समितिद्वारा नवनिर्वाचित कार्यसमितिकाे सराेकारवालाहरुसँग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा बाेल्दै मेयर चाैधरीले यस्ताे बताउनुभएको हाे ।
उहाँले हाेटल व्यवसायलाई सुरक्षित र व्यवस्थित तरिकाले दिगो बनाउन सबै क्षेत्रको सहभागिता आवश्यक भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चाैधरीले होटल व्यवसायले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँने भएकाले अन्य क्षेत्रलाई पनि आर्थिक फाइदा पुग्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले होटल व्यवसायको रात्रीकालिन पक्षलाई समर्थन गर्दै राती होटल खोल्ने समय बढाउने सम्बन्धी प्रशासनको सहयोग रहने जानकारी दिनुभयो । समितिका नवनिर्वाचित अध्यक्ष ईश्वर बुढाले होटल व्यवसायलाई दिगो र प्रतिस्पर्धी बनाउनका लागि विभिन्न योजनाहरू प्रस्तुत गर्नुभएकाे थियाे । अध्यक्ष बुढाले स्थानीय महोत्सव र प्रचारात्मक कार्यक्रम, रात्रीकालिन व्यवसायका लागि समय तथा सुरक्षा व्यवस्थापन, व्यवसाय दर्ता र लेखा प्रणाली तालिम, तथा पर्यटन व्यवसायका अवसर र चुनौतीहरूको बारेमा विचार गोष्ठी सञ्चालन गर्ने योजनाहरू रहेकाे उल्लेख गर्नुभयाे ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सोम घर्तीले होटल व्यवसायीलाई सुरक्षित वातावरणमा व्यवसाय सञ्चालन गर्नका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्त जोशीले व्यवसायीहरूको हितमा केन्द्रित भएर काम गर्न सुझाव दिनुभयो।
समितिका द्वितीय उपाध्यक्ष बुद्धिप्रकाश शर्माकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रमको सहजिकरण समितिका सचिव श्यामकुमार बिकले गर्नुभएको थियाे ।

