काठमाडौँ, ४ चैत । संसदले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने कानुन बनाउन लागेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा, एक व्यक्तिले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भन्ने सीमा तोक्ने तयारी भइरहेको छ।
समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म मात्रै परीक्षा दिन पाउने प्रावधान राख्ने तयारी गर्दै कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई आइतबार जिम्मेवारी दिएको छ।
यसअघि समितिको १९ पुसको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले पाँच पटक फेल भएका व्यक्तिलाई परीक्षामा सहभागी गराइरहन आवश्यक नभएको बताउनु भयाे। उहाँले भन्नभयाे, “गाउँमा बाँझो खेतबारी भएकाले त्यहाँ जान राज्यले उत्प्रेरित गर्नुपर्छ।”
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले आयोगका अध्यक्ष रेग्मीको प्रस्तावअनुसार व्यवस्था गर्न सरकारका दुई सचिवलाई गृहकार्य गर्न निर्देशन दिनुभएकाे छ। उहाँले भन्नुभयाे, “लोक सेवा आयोगले भारतमा पनि ४ देखि ५ पटकसम्म मात्र परीक्षा दिन पाइन्छ। हामीले खुला कोटामा ६ पटक र आरक्षित कोटामा ७ पटक परीक्षा दिने व्यवस्था गर्नका लागि छलफल गरेका छौं।”
आयोगका अध्यक्ष रेग्मीले दक्षिण एसियाका मुलुकहरूको अध्ययन गरेर यो प्रस्ताव अघि सारिएकाे बताउनुभयाे । रेग्मीले भन्नुभयाे, “५–६ पटक परीक्षा दिँदा पनि पास गर्न नसक्नेले विकल्प खोज्नुपर्छ। यदि विकल्प खोज्न सक्दैन भने घर जानुहाेस, खेतीपाती गर्नुहोस्।”
उहाँको भनाइमा, २५ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरू सामान्यतया लोक सेवाको परीक्षामा पास हुन्छन्। उहाँले थप्नुभयाे , “योग्य व्यक्तिले ३–४ पटकमा परीक्षा पास गर्न सक्छ।”
अध्यक्ष रेग्मीको तर्क छ कि धेरै पटक परीक्षा दिएर पास हुने कर्मचारीले निजामती सेवामा उचित योगदान गर्न सक्दैनन्। उहाँका अनुसार, सेवा प्रवेशमा पुरुषका लागि ३२ वर्ष र महिलाका लागि ३७ वर्ष उमेर सीमा लगाउनुपर्ने आवश्यकता छ। “३२ वर्षसम्म पनि लाइन लिन नसकेको व्यक्तिले निजामती सेवामा योगदान दिन सक्दैन,” रेग्मीले भन्नुभयाे ।
अहिले पुरुषलाई ३५ वर्ष र महिलालाई ४० वर्षसम्म लोक सेवा परीक्षा दिन अनुमति छ। निजामती सेवा प्रवेशको उमेर भने खरिदार र नायब सुब्बामा कम्तीमा १८ वर्ष र शाखा अधिकृतमा २१ वर्ष छ।


