दाङ, १९ जेठ — सार्वजनिक यातायात बचाउ संघर्ष समितिले सात बुँदे माग अघि सार्दै सोमबारदेखि आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ। यात्रु, व्यवसायी लगायत दैनिक आवागमनमा निर्भर नागरिकहरू बन्दबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
यात्रुबाहक सवारी साधन सञ्चालनमा नआउँदा सयौं यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने गन्तव्यतर्फ गइरहेका सवारी साधनहरू दाङका विभिन्न सडकखण्डमा रोकिएका छन्। बन्दको क्रममा एम्बुलेन्स, स्कुल बस, प्रेस, दमकल, पानी ट्याङ्कर र मोटरसाइकल बाहेक अन्य सबै सवारीसाधनको सञ्चालनमा रोक लगाइएको छ।
घोराहीका मुख्य बजारहरू खुले पनि चहलपहल न्यून हुँदा वातावरण सुनसान देखिएको छ। केही मोटरसाइकलहरू भने छिटपुट रूपमा सञ्चालनमा आएका छन्।
प्रदेश सरकारले निजी सवारीसाधनलाई यात्रुबाहकको रूपमा सञ्चालन गर्न अनुमति दिने गरी नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलित भएका हुन्। उनीहरूका अनुसार प्रदेश सरकारले ‘संविधानविपरीत’ कानुन निर्माण गरी कार्यान्वयन गर्न खोजेपछि सार्वजनिक यातायात विस्थापित हुने खतरा उत्पन्न भएको हो।












