भरत वली

दाङ, जेठ २१ ।  गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ नियमावली’ एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरूले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। आन्दोलन स्थगित भएसँगै दाङको घोराहीसहित विभिन्न स्थानमा सार्वजनिक गाडीहरू पुनः सञ्चालनमा आएका छन्।

पछिल्लाे दुई दिनसम्म सार्वजनिक सवारी अवरुद्ध हुँदा यात्रुहरूले ठूलो सास्ती भोग्नुपरेको थियो। सोमवार मध्यरातमा सरकार र व्यवसायीबीच सहमति भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै मंगलबार दिनभर गाडी नचलाइएको थियो। तर मंगलबार बेलुका बसेको व्यवसायीहरूको बैठकले तत्कालका लागि आन्दोलन फिर्ता लिने निर्णय गरेपछि सेवा सुचारु भएको हो।

घोराही बसपार्क तथा विभिन्न काउन्टरहरूमा यातायात समितिहरू पुनः सञ्चालनमा आएका छन्। यद्यपि सवारी साधन सञ्चालनमा आए पनि यात्रुहरूको संख्या न्यून देखिएको छ। पार्किङ स्थलहरूमा गाडीहरू थप्प परेका छन्, जसले व्यवसायमा प्रत्यक्ष असर पारेको व्यवसायीहरू बताउँछन्।

आज बिहानको अवस्थामा मुख्य सडकहरूमा मोटरसाइकल, अटो रिक्स्या, पानी ट्यांकर तथा स्कुल बसहरू मात्र सक्रिय देखिएका छन् भने सार्वजनिक बसहरूको संख्या कम देखिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले सरकारको निर्णयपछि व्यवसायीहरू आन्तरिक छलफलमा बसेर आन्दोलन स्थगनको निर्णय गरेको जानकारी दिनुभएको छ। गण्डकी प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत पठाइएको सहमतिका आधारमा नियमावली स्थगित गरिएको हो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस