जेठ २१, दाङ । राप्ती लोकमार्गअन्तर्गत दाङको राम्री–कपुरकोट सडकखण्ड नौ दिनका लागि बन्द हुने भएको छ।सडक स्तरोन्नतिको कार्य हुने भएकाले सो सडकखण्ड आगामी नौ दिनसम्म बन्द रहने जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ।
प्रशासन कार्यालयले एक सूचना जारी गर्दै पर्सि अर्थात् २३ गतेदेखि असार १ गतेसम्म हरेक दिन ६ घण्टा सडक बन्द हुने जनाएको छ। सडक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जानकारी दिनुभएको छ।
उहाँले सो अवधिमा सवारी साधन चलाउने चालक र यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नुभएको छ।
साना सवारी साधनका लागि वैकल्पिक मार्गका रूपमा पैयाखोरिया–सातबास–किमुचौर–कपुरकोट सडक प्रयोग गर्न सकिने जनाइएको छ।













