जेठ २१, झापा – नेकपा एमालेले जनताको घरदैलोमा पुगेर समस्या पहिचान गर्ने र त्यसको आधारमा विकासको योजना तयार गर्ने अभियान सुरु गरेको छ। जनचाहनामा आधारित विकासको खाका बनाउन झापा जिल्लामा बुधबार अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो।
कोशी प्रदेशको समृद्धिका लागि झापाको विकास योजना चित्र तयार पार्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेकपा एमालेका नेताहरूले अब गाउँगाउँ पुगेर जनसमस्याको तथ्य संकलन गर्ने जानकारी दिएका छन्।
एमालेका कोशी प्रदेश इञ्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राईले पार्टीका नेताहरुलाई सबै जिल्लामा समृद्धिका लागि योजना चित्र निर्माण गर्न सुझाव दिनुभयो। उहाँले आर्थिक वर्ष २०८२ भित्र प्रदेशका सबै जिल्लाले आ–आफ्नो योजना चित्र बनाइसक्ने जानकारी दिनुभयो।
वडा तहसम्मको विकास योजना बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो, “जनताको आधारभूत आवश्यकता के हो? त्यो योजना चित्रमार्फत प्रस्तुत गर्नुहोस्। भौतिक पूर्वाधारको अधिकांश काम सम्पन्न भइसकेको छ, अब जनतालाई आर्थिक रुपमा कसरी सम्पन्न बनाउने भन्नेबारे योजना बनाउनुहोस्।”
पूर्वमुख्यमन्त्री राईले प्रत्येक निर्वाचनमा जनताले मतदान किन गर्ने भन्ने प्रश्न उठाउने गरेको भन्दै, त्यसको उत्तर दिन पार्टीसँग स्पष्ट योजना हुनुपर्नेमा जोड दिनुभयो। “हामीले समृद्धिको खाका प्रस्तुत गरेपछि मात्रै जनताले एमालेलाई बहुमत दिनेछन्,” उहाँले भन्नुभयो।
झापाको विकास योजना निर्माणका लागि सात सदस्यीय कार्यदल गठन गरिने र त्यसमा विज्ञ तथा राजनीतिक नेतृत्वको सहभागिता रहने बताइएको छ। वडादेखि जिल्ला तहसम्मको समग्र विश्लेषण गरी योजना निर्माण गर्नुपर्नेमा राईले जोड दिनुभयो।
“स्वच्छ, सुखी र समुन्नत कोशी प्रदेश” निर्माणका लागि एमाले योजना चित्रमार्फत अघि बढ्ने उहाँको धारणा छ। उहाँले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने लक्ष्यका साथ जनताको बीचमा जानुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा जनप्रतिनिधि र पार्टीका नेताहरूले समेत आफ्ना सुझाव राखेका थिए। कार्यक्रममा एमाले झापा अध्यक्ष प्रेम गिरीले विकास योजना चित्रले झापावासीको भावना समेट्ने प्रतिवद्धता जनाउँदै झापाको सबै क्षेत्रको अध्ययन गरेर योजना निर्माण गरिने बताउनुभयो।












