जेठ २१, । गाजास्थित सहायता केन्द्रहरू एक दिनका लागि बन्द भएका छन्। इजरायली रक्षा बल (आईडीएफ) ले सहायता केन्द्र जाने सडकहरूलाई ‘लडाइँ क्षेत्र’ घोषणा गरेपछि  ती केन्द्रहरू बन्द गरिएका हुन्।

अमेरिका र इजरायलको समर्थनमा सञ्चालित विवादास्पद मानवीय संस्था गाजा ह्युम्यानिटेरियन फाउन्डेशन  ले सहायता वितरण केन्द्रहरू केही समयका लागि बन्द गरिएको जानकारी दिएको छ। संस्थाका अनुसार केन्द्रहरूमा अद्यावधिक तथा संगठनात्मक सुधारका कार्यहरू भइरहेको बताइएको छ। गत साता सञ्चालनमा आएको यस समूहले भोलिबाट पुनः सहायता वितरण कार्य सुरु गरिने जनाएको छ।

यसैबीच, गाजाको एक सहायता केन्द्र नजिकै इजरायली गोलीबारीमा परी कम्तीमा २७ जना प्यालेस्टिनीको मृत्यु भएको हमास समर्थित स्थानीय अधिकारीहरूले जनाएका छन्। इजरायली पक्षले भने “निर्धारित मार्गबाट विचलित भएका र आशंकास्पद रूपमा अगाडि बढेका व्यक्तिहरूलाई लक्षित गरी गोली प्रहार गरिएको” दाबी गरेको छ।

युद्धको चपेटामा परेको गाजाको अवस्थाबारे रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) की अध्यक्ष मिर्जाना स्पोलजारिकले टिप्पणी गर्दै गाजा अहिले पृथ्वीको नर्कभन्दा पनि भयावह अवस्थामा पुगेको बताउनुभएको छ।

आईसीआरसी युद्धग्रस्त क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो। गाजामा यस संस्थाका झन्डै १३० जना कर्मचारी कार्यरत छन्, जसमा अधिकांश प्यालेस्टिनी नागरिकहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस