जेठ २१, काठमाडौं । गत असोजमा परेको अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोले उपत्यका आसपासका बस्तीहरू डुबानमा परे। बीपी राजमार्गसमेत पहिरोले अवरुद्ध बनायो भने पुलहरू बगायो। कोसी नदी मात्र नभई सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेका सहायक नदी तथा खोलाहरूले ठूलो क्षति पुर्याएकाे थियाे।
त्यसै क्रममा काभ्रेको रोशी खोलामा आएको बाढीले नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ जोड्ने झोलुंगे पुल समेत बगाएको थियो। बाढीले बगाएको सो पुलको सामग्री निकालेर कवाडीको रूपमा बिक्री गरिएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक जितेन्द्र पासवान र मन्टु कुमार (कवाड व्यवसायी) तथा दुई जना काभ्रेका टिपर चालक मनबहादुर तामाङ र रमेश लामा रहेका छन्। पुलका सामग्रीहरू बा २ ख ४००१ र बा ५ ख ४६२६ नम्बरका टिपरमा लोड गर्दै गर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अनुसन्धानका क्रममा ती सामग्रीहरू नमोबुद्ध नगरपालिका–६ का वडाध्यक्ष टिकाबहादुर केसी र रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोककुमार गौतमको अनुमति प्राप्त गरेर निकालिएको खुलेको छ।
केसी नेपाली कांग्रेसबाट र गौतम माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्।












