जेठ २२, काठमाडौं । संघीय संसद्का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बिहिबार बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुने कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव वक्तव्यसहित पेस गर्ने कार्यसूची रहेको छ। उक्त प्रस्तावमाथि आजै छलफल हुने सम्भावना रहेको सचिवालयले जनाएको छ।

त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यक्रम पनि कार्यसूचीमा समावेश छ। आजको बैठकमा विषयगत समितिमा सदस्य हेरफेर तथा प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने कार्यसूची पनि रहेको छ।

यसैबीच, राष्ट्रियसभाको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस