जेठ २२ — एक अध्ययनले संसारभर समुद्रको भित्री भागमा अँध्यारोको मात्रा बढ्दै गएको निष्कर्ष निकालेको छ। बेलायतको प्लाइमाउथ विश्वविद्यालयको अनुसन्धान टोलीद्वारा गरिएको अध्ययन अनुसार पछिल्लो दुई दशकमा समुद्रको गहिराइसम्म प्रकाश पुग्न कठिन बन्दै गएको पाइएको हो।

समुद्रको सतहमा आएको परिवर्तनका कारण भित्री भागसम्म प्रकाश पुग्न अवरोध हुँदा समुद्रको गहिरो भाग क्रमशः अँध्यारो हुँदै गएको एक अध्ययन प्रतिवेदनले जनाएको छ।

समुद्रमा प्रकाश पुग्ने गहिराइसम्मको भागलाई “फोटोसिक क्षेत्र” भनिन्छ, जहाँ समुद्री जीवजन्तुको करिब ९० प्रतिशत हिस्सा पाइन्छ। त्यस क्षेत्रसम्म प्रकाश नपुग्दा समुद्री जीवनचक्रमा असर पर्ने खतरा देखिएको छ।

ग्लोबल चेन्ज बायोलोजी पत्रिकामा प्रकाशित प्रतिवेदन अनुसार सन् २००३ देखि २०२२ सम्मको अवधिमा विश्वका महासागरमा अँध्यारोको मात्रा औसतमा २१ प्रतिशतले बढेको पाइएको छ। झन्डै ९ प्रतिशत समुद्री क्षेत्रमा फोटोसिक क्षेत्र ५० मिटरले घटेको छ भने २.६ प्रतिशत क्षेत्रमा त यो क्षेत्रमा १०० मिटरको कमी आएको देखिएको छ।

सतहमा भएको परिवर्तन, विशेषगरी जलवायु परिवर्तनका कारण समुद्रको सतह ततिनु यस समस्याको मुख्य कारण भएको अध्ययनमा संलग्न वैज्ञानिकहरूको निष्कर्ष छ। सबैभन्दा बढी असर तटीय क्षेत्रमा देखिएको छ।

यदि अहिलेको अवस्था यथावत रह्यो भने आगामी २० वर्षमा समुद्री जीवजन्तुका लागि गम्भीर संकट उत्पन्न हुन सक्ने चेतावनी पनि अध्ययनकर्ताहरूले दिएका छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस