जेठ २३, काठमाडौं । सप्तरीमा लुटपाट गर्न आएका डाँका समूहको प्रतिकार गर्दा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार डाँका समूहले चलाएको गोली लागेर सुरुङ्गा नगरपालिका–८ मल्हनवाका कान्तालाल चौधरीको ज्यान गएको हो। कान्तालालका भाइ रामाकान्त चौधरी घाइते हुनु भएको छ, उहाँको अहिले प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ।

गएको राति करिब १ बजेतिर ४/५ जनाको डाँका समूहले चौधरीको घरमा लुटपाट गर्न खोजेपछि घरधनीहरूले प्रतिकार गरेका थिए। प्रतिकारका क्रममा डाँका समूहले धारिलो हतियार प्रहार गरी कान्तालाललाई घाइते बनाएको थियो। त्यसपछि गोली प्रहार गर्दा घटनास्थलमै उहाँको मृत्यु भएको हो।

डाँका समूहले चौधरीको घरबाट पाँच तोला सुन, दुई किलो चाँदी र ६० हजार रुपैयाँ नगद लुटेका छन्। घटनास्थलबाट प्रहरीले नपड्किएको तीन राउन्ड गोली र एक राउन्ड गोलीको खोका बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस