जेठ २३, काठमाडौँ । नेपाल मौरीपालक महासङ्घका अनुसार हालसम्म किसानले उत्पादन गरेको करिब २१ टन मह अझै बिक्री हुन सकेको छैन। अघिल्लो वर्ष यही समयमा ६९ टन मह बिक्रीविहीन अवस्थामा थियो।
त्यसबेला किसानहरूले तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको घरमै पुगेर गुनासो गरेपछि समस्या केही हदसम्म समाधान भएको थियो। त्यसैको फलस्वरूप दबाबका कारण डाबर नेपालले थोरै मात्रामा भए पनि मह खरिद गरेको थियो। तर, किसानहरूले अझै पनि बजारीकरणको समस्या कायमै रहेको र त्यसकै कारण महको ठूलो मात्रा मौज्दातमै रहेको बताएका छन्।
मौरीपालन विज्ञहरूका अनुसार समस्या मागको अभावमा नभई उपभोक्तामा नेपाली महप्रति पूर्ण विश्वासको कमीका कारण उत्पन्न भएको हो। नेपाली मह जम्ने भएकाले नक्कली भन्ने आम धारणा पनि बजारीकरणमा बाधक बनेको महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेको भनाइ छ। उहाँले उपभोक्तालाई महबारे जानकारी दिने उद्देश्यले काठमाडौँमा मह मेला आयोजना गरिएको जानकारी दिनुभयो।
मौरी विज्ञ जगदीशभक्त श्रेष्ठका अनुसार मौरीले बिरुवा र फूलबाट संकलन गरेको रसबाट मह उत्पादन हुन्छ। तोरीजस्ता फूलबाट प्राप्त मह चाँडै जम्ने प्रकृतिको हुन्छ। साथै, १३/१४ डिग्री सेल्सियसभन्दा कम तापक्रममा पनि मह जम्न सक्छ। यस्तो जम्ने प्रक्रिया प्राकृतिक हो र ‘मह तताउँदा यसको केही गुण नष्ट हुन सक्छ’, श्रेष्ठले बताउनुभयो।
उहाँले महलाई औषधीय गुण मात्र नभई पोषणका हिसाबले पनि अत्यन्त उपयोगी बताउनुभयो। मह सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत पुर्याउँछ।
महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलका अनुसार महको बजार अभावका कारण विगतका केही वर्षमा मौरीपालकहरू पेशाबाट पलायन हुने अवस्थामा समेत पुगेका थिए। ‘हामी उपभोक्तालाई नेपाली किसानद्वारा उत्पादन गरिएको मह खरिद गर्न आग्रह गर्छौं। मह जम्नु स्वाभाविक हो, नजम्ने मह नक्कली हुनसक्छ’, उहाँले भन्नुभयो।
चितवनको कालिका नगरपालिका, शक्तिखाेरस्थित बी एन्ड बी मौरी फर्मका सञ्चालक विकास नेपालले यस्ता मह मेलाहरूले बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
महासङ्घका पूर्वअध्यक्ष राजेन्द्र गौतमका अनुसार नेपालमा आवश्यकताअनुसार मह उत्पादन हुन सकेको छैन। तर, उत्पादन भएको मह पनि बजार नपाउँदा किसान समस्यामा परेका छन्। ‘नेपाली मह गुणस्तरीय भए पनि उपभोक्तालाई त्यसबारे बुझाउन सकिरहेका छैनौँ। नक्कली हो भन्ने भ्रमले बजारमा समस्या भइरहेको छ’, उहाँले भन्नुभयो। साथै, सरकारले महको बजारीकरणमा सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। अन्तर्राष्ट्रिय बजार राम्रो भए तापनि नेपाली महको निर्यात भने अझै सीमित रहेको उहाँको भनाइ छ।
मौरी विकास केन्द्र, भण्डाराका प्रमुख सुजन अम्गाईँका अनुसार गत वर्ष मात्रै पाँच करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको नेपाली मह विदेशमा निर्यात गरिएको थियो। यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली महको सम्भावना पुष्टि गर्छ। उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गर्न सके निर्यात अझै वृद्धि गर्न सकिने बताउनुभयो।
मौरीपालक किसानहरूका अनुसार महको बजार मात्र होइन, चरनको अभाव र विषादी प्रयोगले समेत समस्या निम्त्याएको छ। मौरी चरनका लागि शुल्क तिर्नुपर्ने, खाद्य अनुज्ञापत्र लिनुपर्ने, हरेक किसानले प्रोसेसिङ युनिट राख्न नसक्ने जस्ता समस्या समाधान हुनु जरुरी रहेको किसानहरूको भनाइ छ।
नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घकी अध्यक्ष जानुका थापाले यी सम्पूर्ण समस्याहरू समाधान गर्दै किसानलाई सङ्गठित रूपमा मह बजारीकरणमा संलग्न गरिनुपर्नेमा जोड दिनुभयो।
काठमाडौँको भृकुटीमण्डपमा सञ्चालनमा रहेको मह मेलामा ४० वटा कक्षमा मह, मौरीको घार, पोलन, प्रपोलिस, टोपी, ब्रसलगायत सामग्री प्रदर्शनीमा राखिएका छन्। मेलामा सातै प्रदेशका किसानको सक्रिय सहभागिता रहेको छ।
मेलाका संयोजक सुवासचन्द्र घिमिरेका अनुसार मेलामा मौरीपालनसम्बन्धी प्रविधि, मौरीका विविध प्रजाति र महको गुण, स्वाद तथा रङका विषयमा जानकारी प्रदान गरिनेछ।
महासङ्घमा आबद्ध किसानहरूले यस वर्ष मात्रै २ सय २६ टन मह उत्पादन गरेका छन्। नेपालमा सेरेना जातका मौरीको १२ हजार १ सय ३८ गोला र मेलिफेरा जातका मौरीको ६ हजार ५ सय गोला रहेका छन्। महासङ्घमा सेरेना मौरीपालक ७ सय ११ जना र मेलिफेरा मौरीपालक २ सय ७० जना किसान आबद्ध छन्।












