जेठ २४, काठमाडौं । ‘खाद्य पदार्थमा स्वच्छता: विज्ञानको अपरिहार्यता’ भन्ने नाराका साथ आगामी शनिबार १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदैछ। सन् २०१८ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। यसैअनुसार नेपालमा पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस वर्ष जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म विविध कार्यक्रमसहित सप्ताहव्यापी रूपमा दिवस मनाइने भएकाे छ।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, प्रत्येक वर्ष दूषित तथा अस्वच्छ खाद्य पदार्थका कारण झाडापखाला, क्यान्सरसहित २०० भन्दा बढी रोग सर्ने गरेका छन्। प्रत्येक १० जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थ सेवनका कारण बिरामी पर्ने गरेका छन् भने वर्षेनी झण्डै ४ लाख २० हजार मानिसको मृत्यु खाद्यजन्य रोगका कारण हुने गरेको छ। तीमध्ये झाडापखालाबाट मात्र करिब ५५ करोड मानिस बिरामी हुने र २ लाख ३० हजारको मृत्यु हुने तथ्यांक छ।

नेपालमा भने विश्वमा औपचारिक रूपमा खाद्य स्वच्छता दिवस मनाउन थाल्नुअघि नै कार्यक्रमहरू आयोजना गर्न थालिएको थियो। नेपालमा विसं २०६५ देखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विश्व खाद्य स्वच्छता दिवस मनाउन थालेको हो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस