जेठ २४, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि बदलाको भावनाले भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गर्नुभएको छ।पार्टीको केन्द्रीय कार्यालय आलोनगरमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको प्रभावशाली भूमिकाले केही व्यक्तिहरू आत्तिएको उल्लेख गर्नुभयो। उहाँले राजनीतिमा ईर्ष्या र पूर्वाग्रहका कारण आफूविरुद्ध मुद्दा दायर गरिएको धारणा व्यक्त गर्नुभयो।

“नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण छ,” अध्यक्ष नेपालले भन्नुभयो, “त्यही भूमिका देखेर केही व्यक्तिहरू आतङ्कित भएका छन्। बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ। त्यसैको परिणामस्वरूप ममाथि भ्रष्टाचार मुद्दा लगाउन प्रयास भएको हो।” उहाँले आफूमाथि लागेको आरोपको खण्डन गर्दै भने, “मैले कसैसँग एक रुपैयाँ घुस लिएको छैन, कुनै अनुचित लाभ लिएको छैन। यदि कुनै अनुचित काम गरेको प्रमाणित भए, त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु।”

नेपालले आफू सधैँ ‘नबिराउनु, नडराउनु’ भन्ने सिद्धान्तमा अडिग रहेको बताउँदै न्यायपालिकामाथि विश्वास व्यक्त गर्नुभयो। “जब कुनै कुत्सित मनसाय हुँदैन, निजी स्वार्थमा कुनै काम गरिएको हुँदैन भने डराउनुपर्ने आवश्यकता हुँदैन,” उहाँले भन्नुभयो, “न्यायको जीत हुनेछ, अन्यायको हार हुनेछ।”

अध्यक्ष नेपालले विचार फरक हुँदैमा शत्रुता पाल्न नहुने भन्दै राजनीतिक असहिष्णुताविरुद्ध पनि आवाज उठाउनुभयो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस